काठमाडौं ।नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेस प्रदेशमा पार्टीको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। फेसबुकमा बिहीबार प्रकाशित स्ट्याटसमा भट्टराईले मधेसमा एमाले पहिलो शक्ति हुँदाहुँदै पनि राजनीतिक रूपमा पार्टी एक्लिएको र सार्वजनिक छविमा प्रश्न उठेको बताएका छन्।
भट्टराईले २०७२ सालको संविधान जारी भएपछिका केही वर्ष मधेस प्रदेशमा पार्टीका लागि चुनौतीपूर्ण समय भएको स्मरण गराउँदै भने, “एमालेलाई विभिन्न शक्तिहरूले धावा बोले, नेता तथा कार्यकर्तालाई निशाना बनाइयो र पार्टी कार्यालयमा आक्रमण गरियो। तर नेतृत्व र कार्यकर्ताको अथक मेहनतले संसदीय तथा स्थानीय निर्वाचनमा उल्लेख्य प्रगति गरियो।”
उनी भन्छन्, प्रतिनिधि सभा प्रत्यक्षमा १० सिट र प्रदेशसभामा २५ सिट सहित एमाले पहिलो पार्टी बनेको उपलब्धिको मुख्य श्रेय पार्टी अध्यक्ष केपी ओलीलाई जान्छ। भट्टराईले मधेसमा करिब १५ महिना इंचार्जको रूपमा संगठन व्यवस्थापन, प्रदेश तथा जिल्ला अधिवेशन, सदस्यता व्यवस्थापन र जानसंगठनमा प्रगति भएको जानकारी दिएका छन्।
उनले सामाजिक न्याय, महिला र दलित अधिकारको संरक्षण तथा भौगोलिक–सामाजिक एकताको निर्माणमा पार्टीले गरेको योगदानलाई पनि औँल्याए। तर वर्तमानमा प्रदेश प्रमुखको बर्खास्ती, सभामुख पदमुक्त, मुख्यमन्त्री अदालतमा र पार्टीभित्र अन्तरबिरोध तीव्र भएपछि पार्टी नेतृत्वमाथि प्रश्न उठेको भट्टराईले उल्लेख गरेका छन्।
भट्टराईले पार्टी अध्यक्ष केपी ओलीसामु निवेदन गर्दै भनेका छन्, “मधेसमा पार्टीको जनआधार बिस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ गर्न र सामाजिक छवि सुधार्न नयाँ जिम्मेवारीसहित कदम चाल्नुपर्ने छ। यस विषयमा गम्भीर समिक्षा र सामाजिक अडिट आवश्यक छ।”