शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अनलाइन ठगीबाट जोगिन प्रहरीले जारी गर्याे सात बुँदे सचेतना

बिहिबार, मंसिर ४ २०८२

काठमाडौँ  । हालअनुसार अनलाइनमार्फत ठगी हुने घटना तीव्र गतिमा बढ्दै गएपछि नेपाल प्रहरीले सात बुँदे सावधानी अपिल जारी गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक सूचना प्रकाशित गर्दै नागरिकलाई डिजिटल ठगीबाट सचेत रहन आग्रह गरेको हो।

परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पछिल्लो समय चिठ्ठा परेको बहाना, राजस्व तिर्नुपर्ने भन्दै अग्रिम रकम माग्ने, र अनलाइन सामान किनबेचमा ठगी जस्ता घटनाहरू दोहोरिन थालेपछि प्रहरी बाध्य भएर सूचनासहित सचेतना अभियानमा उत्रिएको हो।

प्रवक्ता भट्टराईका अनुसार, “दैनिकजसो विभिन्न नाममा अनलाइन ठगीका उजुरी बढ्न थालेका छन्। नागरिकले एक क्षणको प्रलोभनले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने हुनाले सावधानी अत्यन्त जरुरी छ,” भन्दै सबैलाई डिजिटल माध्यम प्रयोग गर्दा अधिक सतर्क हुन अपिल गरिएको छ।

  • ‘तपाईंलाई चिठ्ठा परेको छ’ भनी आएका सन्देशहरूबाट सतर्क रहनु—अग्रिम (राजस्व) रकम मागेर ठगी गर्ने प्रवृत्ति बढ्दै गएको चेतावनी।
  • अनलाइनबाट सामान खरिद गर्दा बिक्रेता आधिकारिक/विश्वसनीय हो कि होइन भन्ने पक्का नगरी कुनै पनि रकम नतिर्नु।
  • अपरिचित नम्बर वा व्यक्तिबाट भिडियो–कल गरेर कल रेकर्ड गरी अश्लील सामग्री बनाएर ब्ल्याकमेल गर्ने जोखिम उच्च भएको भन्दै त्यस्ता कलप्रति सावधानी अपनाउन आग्रह।
  • सामाजिक सञ्जालमार्फत साथी वा आफन्तको नाममा आर्थिक सहयोग मागियो भने प्रत्यक्ष सम्पर्क गरेर मात्र सहयोग गर्नू—खाता ‘ह्याक’ भएको हुनसक्ने भन्दै सतर्कता।
  • अनलाइनमा सस्तो दर देखाएर अग्रिम रकम माग्ने ठगीबाट बच्न सावधानी।
  • अपरिचित वा नयाँ अनलाइन लिङ्क नखोल्न, आफ्नो ओटिपी कोड, मोबाइल स्क्रिन, पासवर्ड तथा अन्य व्यक्तिगत विवरण कसैलाई पनि नदिन।
  • सामाजिक सञ्जालमा संवेदनशील वा महत्त्वपूर्ण निजी जानकारी नराख्न अनुरोध।