शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

क्यासिनोलाई थप कानुनी दायरामा ल्याउँदै सरकार, पर्यटन विभागद्वारा १२ बुँदे कडा निर्देशन

बुधबार, मंसिर ३ २०८२

काठमाडौँ । सरकारले क्यासिनो क्षेत्रलाई थप व्यवस्थित र कानुनी दायरामा लैजान १२ बुँदे कडा निर्देशन जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले जारी गरेको नयाँ निर्देशनले सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा आतंकवादी वित्तीय गतिविधि रोकथामसम्बन्धी सभी नियमको कडाइका साथ पालना गर्न क्यासिनोलाई अनिवार्य गरेको छ ।

विभागले विदेशी विनिमय कारोबारमा नेपाल राष्ट्र बैंकको अनुमति अनिवार्य हुने स्पष्ट गर्दै, अनधिकृत रुपमा विदेशी मुद्रा कारोबारमा कडाइ गरेको छ । क्यासिनो नियमावली–२०८२ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रावधानअनुसार आवश्यक विवरण विभागमा नियमित पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।

निर्देशनअनुसार खेलाडीको पहिचान प्रणाली (KYC) तथा बायोमेट्रिक विवरण अद्यावधिक राख्नुपर्नेछ । क्यासिनोभित्रका गतिविधि निगरानीका लागि जडान गरिएका सिसीटीभीको फुटेज कम्तीमा छ महिना सुरक्षित राख्नुपर्नेछ । तेस्रो पक्षमार्फत क्यासिनो सञ्चालन गर्न नपाइने र इजाजत प्राप्त क्षेत्रबाहेक कुनै पनि स्थानमा सञ्चालन पूर्ण रूपमा प्रतिबन्धित हुनेछ ।

खेलाडीले जितेको रकम भुक्तानी गर्दा प्रचलित कानुनअनुसार तत्काल आकस्मिक लाभकर कट्टी गर्नुपर्नेछ । कर कट्टीपछि क्यासिनोले प्रमाणपत्र जारी गरी त्यसको विवरण सम्बन्धित आन्तरिक राजश्व कार्यालयसहित पर्यटन विभागलाई पनि बुझाउनुपर्नेछ ।

अनलाइन वा इन्टरनेटमार्फत कुनै पनि खेल खेलाउन प्रतिबन्ध लगाइएको छ । क्यासिनो तथा होटल परिसरभित्र र बाहिर पर्याप्त सुरक्षा व्यवस्था व्यवस्थित राख्नुपर्नेछ । यस्तै, नेपाललाई ग्रेलिस्टबाट हटाउन आवश्यक सुधारात्मक गतिविधि प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशनले जोड दिएको छ ।

निर्देशनमा उल्लिखित व्यवस्था उल्लङ्घन भएमा तत्काल कानुनी कारवाही हुने विभागले जनाएको छ ।