काभ्रेपलाञ्चोक । जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न सरकारी तथा निजी संरचनामा गरिएका आगजनी, तोडफोड र लुटपाट घटनामा संलग्न थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाभर भएका घटनामा संलग्न फेला पारिएका व्यक्तिहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
पक्राउ परेका व्यक्तिहरूमा धुलिखेल नगरपालिका–३ का २१ वर्षीय अजय तामाङ, खानीखोला गाउँपालिका–१ का २१ वर्षीय विशाल भोलन, बनेपा नगरपालिका–३ का २२ वर्षीय रवीन्द्र परियार, वडा नं. ८ का १९ वर्षीय अभि सुधाकार र जिरी नगरपालिका–१, दोलखाका २७ वर्षीय भीम तामाङ छन्। केही पक्राउ परेकाविरुद्ध पहिलेदेखिनै विभिन्न मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ—भोलनसँग लागुऔषध मुद्दा र सुधाकारसँग सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता रहेको जानकारी सूचना अधिकारी डीएसपी रविन विष्टले दिएका छन्।
प्रहरीका अनुसार उनीहरूको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ। यसअघि पनि जेनजी आन्दोलनकै क्रममा काभ्रेपलाञ्चोकका विभिन्न ठाउँमा गरिएका आगजनी, तोडफोड र लुटपाट घटनामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको थियो। कार्यालयले हाल दर्ता भएका उजुरीका आधारमा घटनामा संलग्नहरूमाथि विशेष अनुसन्धान जारी राखेको जनाएको छ।
जिल्लाका विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ। त्यस्तै, आन्दोलनकै क्रममा विभिन्न कारागारबाट फरार भएका ५३ जना कैदीबन्दीलाई काभ्रे प्रहरीले विभिन्न मितिमा पक्राउ गरी पुनः कारागार धुलिखेल पठाएको छ।
चालु आर्थिक वर्षका चार महिनामा मात्रै प्रहरीले अदालतले सजाय तोकिएका ५३ जना फरार व्यक्ति पक्राउ गरेको छ। उनीहरूबाट जम्मा १२ वर्ष ८ महिना ७ दिन कैद तथा रु २ करोड ६७ लाख ५९ हजार ९०० बराबरको जरिवना असुल गरिएको कार्यालयले जनाएको छ। अदालतले पठाएको सूचीअनुसार अझै ५४३ जना फरार रहेको प्रहरीले जनाएको छ।