काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा वस्तु व्यापारको कारोबार गर्ने भाटभटेनी सुपर मार्केट तथा डिपार्टमेन्ट स्टोर प्रालि सबैभन्दा बढी कर तिर्ने व्यवसायिक फर्म बनेको छ ।
कर दिवसका अवसरमा व्यवसायी मीनबहादुर गुरुङलाई सरकारले उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको छ । सोमबार आयोजित कार्यक्रममा गुरुङसहित उत्कृष्ट करदाता सम्मानित भएका हुन् ।
यस्तै, राष्ट्रिय कर दिवस २०८२ का अवसरमा आर्थिक वर्ष २०८०/८१ को आय विवरणअनुसार उत्कृष्ट करदातालाई आज आन्तरिक राजस्व विभागले सम्मानित गरेको छ।
क्षेत्रगत आधारमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसञ्चार प्राधिकरण सम्मानित भयो। एकलौटी फर्ममध्ये थर्ड आई इण्टरनेशनल, वस्तु निर्यातमा डावर नेपाल प्रालि, सूचना प्रविधि सेवामा ओरिक्स नेपाल प्रालि, कृषि तथा पशुपंक्षीजन्य उद्योगमा पोषक ब्रिडर फार्म प्रालि उत्कृष्ट करदाता घोषणा भए।
बैंकिङ र बीमा संस्थातर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, स्वास्थ्य तथा शिक्षा क्षेत्रबाट नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड, वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केट, ऊर्जा उद्योगमा भोटेकोशी पावर कम्पनी प्रालि, रेमिट्यान्स तथा मनी कारोबारमा आईएमई लिमिटेड सम्मानित भए। व्यक्तिगत करदाता तर्फ राजबहादुर शाह सर्वाधिक कर तिर्ने करदाताका रूपमा सम्मानित भए।
वार्षिक कारोबारका आधारमा रु ५० करोडदेखि रु एक अर्बसम्मको कारोबार गर्नेमा सिडिएस एण्ड क्लियरिङ लिमिटेड र रु ५० करोडसम्मको कारोबार गर्नेमा भिएफ सर्भिसेज प्रालि सम्मानित भए।
वि.सं. २०७६–२०८२ सम्म नियमित रूपमा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, र विशेष उद्योगमा युनीलिभर नेपाल उत्कृष्ट करदाता घोषित भए।
गतवर्षको सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने आन्तरिक राजस्व कार्यालय बाग्लुङलाई पनि सम्मानित गरिएको छ।