शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

भयरहित समाज निर्माणमा प्रतिबद्ध रहेको प्रहरी महानिरीक्षक कार्कीको प्रतिज्ञा

शुक्रबार, कार्तिक २८ २०८२

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले भयरहित समाज निर्माण गर्न नेपाल प्रहरी पूर्ण रूपमा समर्पित रहने बताएका छन्। विहीबार प्रहरी मुख्यालयमा दज्र्यानी चिन्ह ग्रहणपछि सम्बोधन गर्दै उनले गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीविरूद्ध शून्य सहनशीलता नीतिको कडाइका साथ कार्यान्वयन हुने स्पष्ट गरे।

आईजीपी कार्कीका अनुसार जनविश्वास आर्जन, जनअपेक्षाअनुसार सेवा प्रवाह, आपराधिक गतिविधि नियन्त्रण तथा समाजलाई सुरक्षित बनाउनु प्रहरी संगठनको प्रमुख दायित्व हो। उनले प्रहरी कर्मचारीको साहस, व्यावसायिकता र चरित्रलाई संगठनलाई अघि बढाउने मूल शक्ति भएको उल्लेख गरे।

उनका भनाइ अनुसार विद्यमान सरकारले सुशासन कायम गर्ने र निकट भविष्यमा भयरहित वातावरणमा निर्वाचन सुनिश्चित गर्ने अभिष्ट राखेकाले प्रहरी संगठनले दायित्व संवेदनशीलतापूर्वक निर्वाह गर्नुपर्नेछ। कार्कीले असामान्य सुरक्षा परिस्थितिमा पनि नेपाल प्रहरीले देखाउँदै आएको साहस, धैर्य र जिम्मेवारीप्रतिको निष्ठाको प्रशंसा गरे।

सुरक्षा चुनौतीका विषयमा उनले पछिल्लो समय साइबर अपराध, आर्थिक तथा वित्तीय अपराध, लागुऔषध दुव्र्यसन, आत्महत्याका घटना र सडक दुर्घटना उच्च दरमा बढिरहेको औंल्याए। यी चुनौतीको सामना गर्दै नागरिकको सुरक्षाका लागि प्रहरी अधिक सक्रिय र सजग रहने उनको प्रतिबद्धता थियो।