बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एनपिएल क्रिकेटका लागि टिकट बिक्री सुरु, यस्तो छ मूल्यसूची र प्रसारण व्यवस्था

शुक्रबार, कार्तिक २८ २०८२

काठमाडौँ । आगामी मङ्सिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने नेपाल प्रिमियम लिग (एनपिएल) क्रिकेट प्रतियोगिताका लागि टिकट बिक्री औपचारिक रूपमा सुरु भएको छ। क्रिकेट संघ नेपाल (क्यान) ले यस वर्षका लागि विभिन्न वर्गका टिकट दर सार्वजनिक गरेको छ।

ओपनिङ डे तथा शनिबारका खेलका लागि जनरल टिकट मूल्य रु ५०० तोकिएको छ भने प्रिमियम टिकट रु १,५०० पर्नेछ। त्यस्तै, साताको अन्य दिन हुने खेलहरूमा जनरल टिकट रु ५०० र प्रिमियम टिकट रु १,००० निर्धारण गरिएको छ।

सबै खेल हेर्न चाहने दर्शकका लागि रु १५,००० को विशेष सिजन पास काे व्यवस्था गरिएको छ, जसमार्फत प्रतियोगिताभरका सबै खेल हेर्न सकिन्छ। टिकट बिक्रीका लागि ‘खल्ती बाइ आईएमई’लाई आधिकारिक साझेदार चयन गरिएको छ, जसमार्फत मोबाइल एपबाट अनलाइन टिकट खरिद गर्न सकिनेछ।

युट्युबमा प्रसारण नहुने

यस वर्षको एनपिएल भारतीय स्टार टेलिभिजनसहित नेपाली टेलिभिजनबाट प्रसारण हुने क्यानले जनाएको छ। मोबाइल एपमार्फत सशुल्क रूपमा पनि सबै खेल हेर्न सकिने व्यवस्था मिलाइँदैछ। तर, यो वर्ष नेपालभित्र युट्युबबाट खेल हेर्न नपाइने क्यानले स्पष्ट पारेको छ। टिभी पहुँचबाहिर रहेका दर्शक तथा विदेशस्थित नेपालीहरूले मोबाइल एपमार्फत खेल हेर्नुपर्नेछ। क्यानले यसबारे आधिकारिक धारणा भने अझै सार्वजनिक गरेको छैन।

प्रसारण अधिकारसम्बन्धी बोलपत्रमा संशोधन

एनपिएल २०२५ को प्रसारण अधिकार बिक्रीका लागि क्यानले आह्वान गरेको बोलपत्रमा संशोधन गरिएको छ। बिहीबार जारी सूचनाअनुसार बोलपत्र खरिद, पेश तथा खोल्ने समय तालिका परिमार्जन गरिएको हो। यो बोलपत्र नेपाल क्षेत्रका लागि सिधा टेलिभिजन प्रसारण अधिकार बिक्रीसम्बन्धी हो।