शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्रहरीको मनोबल उच्च गर्दै जनअपेक्षा पूरा गर्ने नवनियुक्त आईजीपी कार्कीको प्रतिबद्धता

बिहिबार, कार्तिक २७ २०८२

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी संगठनको मनोबल बढाउँदै सरकार र आम जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गृह मन्त्रालयमा आज आयोजित विशेष समारोहमा आईजीपी कार्कीलाई दज्र्यानी चिह्न प्रदान गरिएको थियो। समारोहमा छोटो मन्तव्य व्यक्त गर्दै उनले सङ्गठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन हुने बताए ।

कार्कीले भने, “अपराध र सुरक्षा चुनौतीको बदलिँदो परिदृश्य, सूचना प्रविधिको द्रुत विकास र सुशासनको जनअपेक्षाअनुरुप उच्च मनोबलयुक्त प्रहरी चरित्र र क्षमता निर्माण गरी प्रभावकारी सेवा प्रवाह गर्नु सरकार र प्रहरी संगठनको साझा दायित्व हो।”

जेनजी आन्दोलनलगत्तैको सुरक्षा चुनौतीका बाबजुद सुरक्षा रिक्तता नराखी तत्काल नागरिक सेवामा परिचालित भएको जानकारी दिँदै उनले छोटो समयमा प्रहरी संरचना र सेवाको पुनःस्थापना गर्न देखाएको सक्रियता प्रहरीको भूमिकालाई स्पष्ट गरेको बताए ।

२८ वर्ष लामो सेवा अवधि भित्र प्रहरी संगठनमा निर्वाह गरेको योगदानको मूल्यांकन गर्दै आईजीपी कार्कीले सरकारप्रति आभार व्यक्त गरे।
आईजीपी चन्द्रकुवेर खापुङले ३० वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकाशमा जानु भएपछि सरकारले वरिष्ठतम प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीलाई संगठनको प्रमुख नियुक्त गरेको थियो।

समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक र गृह मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरू सहभागी थिए।