बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

जेन–जी आन्दोलनका कारण हयात रिजेन्सीले १३३ श्रमिक कटौती घोषणा

बुधबार, कार्तिक २६ २०८२

काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगलागीका कारण बन्द भएको पाँचतारे होटल हयात रिजेन्सीले १३३ जना श्रमिकको कटौती गर्ने निर्णय गरेको छ।

होटलको मानव स्रोत विभागका महाप्रवन्धक आशिष कुमारका अनुसार, होटलको मर्मत सम्भारको काम सुरु भइसकेको छ र आर्थिक स्रोत व्यवस्थापन गर्नुपर्ने भएकोले र यस अवधिमा सञ्चालनमा नरहेको होटलमा श्रमिकलाई काममा लगाउन असमर्थ भएकाले कटौती आवश्यक परेको हो। उनले बताए, “यो सूचना प्रकाशित भएको मितिले ३० दिन अर्थात् मिति २०८२।०८।२२ (डिसेम्बर ७, २०२५) देखि श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण १३३ श्रमिकको कटौती लागू हुनेछ।”

भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा आपराधिक समूहले होटल परिसरमा प्रवेश गरी तोडफोड, लुटपाट र आगजनी गरेका थिए। घटनामा एक विदेशी पाहुनाले चौथो तलाबाट हाम फाल्दा गम्भीर घाइते भई उपचारका क्रममा ज्यान गुमाउनु परेको थियो।

आगलागी र तोडफोडका कारण होटलको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएको छ र अन्तर्राष्ट्रिय स्तरमा होटलको प्रतिष्ठामा समेत नकारात्मक प्रभाव परेको छ।