शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

‘जेरी अन टप’ २०८२ सालको सर्वाधिक कमाउने नेपाली चलचित्र

बुधबार, कार्तिक २६ २०८२

काठमाडौँ  । नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालको सबैभन्दा बढी आम्दानी गर्ने चलचित्र बनेको छ ।

गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले शनिबारसम्म रु ११ करोड ७१ लाख ४१ हजार ४९८ ग्रस कमाइ गरेको चलचित्र विकास बोर्डअन्तर्गतको ‘बक्सअफिस सिनेपा’ ले जनाएको छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको व्यावसायिक तथ्यांकअनुसार, ‘जेरी अन टप’ ले यस वर्ष प्रदर्शनमा आएका सबै चलचित्रलाई आम्दानीमा पछि पारेको हो ।

चलचित्रका निर्माता सरोज न्यौपानेले दर्शकको साथ र मायाका लागि आभार व्यक्त गर्दै भने, “‘जेरी अन टप’ अझै प्रदर्शनरत छ, त्यसैले यसको कमाइ अझ बढ्नेछ । वितरकहरूले उपलब्ध गराएको तथ्यांक त चलचित्र विकास बोर्डको भन्दा पनि उच्च छ । सगरमाथाको विषयमा बनेको यस चलचित्रले देशभित्र मात्र होइन, प्रवासमा पनि उत्साहजनक साथ पाएको छ, जुन हामी सबैका लागि खुशीको कुरा हो ।”

यसअघि गत वैशाखमा प्रदर्शन भएको चलचित्र ‘ऊनको स्वीटर’ ले रु ११ करोड ४१ लाख ८८ हजार ७८० कमाइ गर्दै वर्षको शीर्ष स्थानमा रहेको थियो । तर, ‘जेरी अन टप’ ले उक्त रेकर्ड तोड्दै शीर्ष स्थान हासिल गरेको हो ।

सुयोग गुरुङद्वारा निर्देशित यस चलचित्रमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे र उषा खड्गी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रले सगरमाथा क्षेत्रमा आधारित कथामार्फत प्रेम, संघर्ष र राष्ट्रिय गौरवको कथा प्रस्तुत गरेको बताइएको छ ।