मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

नबनेको हेडलाइन

सोमबार, कार्तिक २४ २०८२

भदौ २३ गते र त्यसअघिका बहसका विषयमा मुख्यधारका मिडियाले हेडलाइन बनाएका थिएनन्। सामाजिक सञ्जालमा मात्र ति आवाजहरु बुलन्द र बिद्रोही बनेर तिव्र गतिमा फैलिरहेको थियो। उनीहरूलाई भनियो, “तिमीहरू आत्मकेन्द्रित हौ।” तर कसले बुझ्ने, कि उनीहरूको आत्म–केन्द्र नै मानवताको नयाँ व्याख्या थियो। उनीहरूलाई भनियो, “तिमीहरू विरोध गर्दैनौ।” तर उनीहरूको विरोध एक स्टाइल होइन, एक संवेदना थियो, जहाँ मौनले पनि आन्दोलन गर्छ, र हाँसोले पनि अस्वीकार गर्छ। जेनजी पुस्ता यथार्थसँग असहमत थियो, तर घृणा गर्दैनथ्यो। उनीहरूले सत्तासँग संवाद गर्न खोजे, तर सत्ताले उनको भाषा बुझेन।

बुझेको भए तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २२ गते नेकपा एमालेको विधान महाधिवेशन समापन गर्दै गर्दा जेनजी बिद्रोहको आवाजलाई होच्याउने थिएनन्। उनले होच्याए, हेपे र वार्ताका लागि आह्वान गर्न आवश्यक ठानेनन्। त्यो भाषा शब्दको होइन, आत्मभावको थियो। त्यहाँ “हाम्रो“ भन्ने भाव बढ्दै थियो, “म“ हराउँदै थियो। पत्रिकाहरूले हेडलाइन बनाउँछन्, तर कहिलेकाहीँ हेडलाइनहरू पनि डराउँछन्। कसरी लेख्ने, “नयाँ पुस्ताले अर्थको पुनर्जन्म गरिदियो” भनेर, जब पुरानो सत्ता अझै मृत्यु स्वीकार्न तयार छैन? कसरी छाप्ने, “पुस्ता अब स्वार्थी छैन, सजग छ” भनेर, जब बजारले उनीहरूको बेचिनसक्ने मौनतालाई ‘असफलता’ ठान्छ?

त्यहाँ सडकमाथि जल्ने टायर थिएनन्, तर हरेक घरभित्र जलिरहेको प्रश्न थियो। “कसका लागि बाँच्ने?” “किन काम गर्ने?” “किन विश्वास गर्ने?” यी प्रश्नहरूको उत्तर खोज्दै उनीहरूले संसारसँग सम्झौता गर्न होइन, नयाँ संसार निर्माण गर्न थालिसकेका थिए। अहिलेसम्म नलेखिएका ती गाथा अहिले पनि टीकटकका सानो भिडिओमा बाँचिरहेका छन्। त्यो ‘रियल’ बन्ने चाहना नै जेनजीको बिद्रोह हो।

उनले पुरानो मान्यतालाई खारेज गरेनन्, तर नयाँ अर्थ भरे, प्रेममा समानता, विश्वासमा विज्ञान, र व्यक्तित्वमा आत्मसंवेदना। भदौ २३ मा निक्कै बलिया आवाज सडकमा उत्रियो जुन डिजिटल दुनियाँमा उकुस मुकुस बहसमा थियो। राज्यले निर्ममताका साथ गोली हानी २२ जनाको हत्या गरिदियो र पछि भनिरहेको छ– घुसपैठ भयो।

भदौ २४ एउटा विध्वंशको राग बन्यो। एकले अर्काको अस्तित्व हैन केही पनि चिन्ने अवस्था थिएन। त्यहि विध्वंशबाट टाढा पुग्नका लागि ओलीले राजीनामा गरेको जगजाहेर छ। त्यसबेलासम्म मूलधारका मिडियाले जेनजी आन्दोलन र बिद्रोहलाई स्वीकार गर्न सकिरहेको थिएन।

अहिले केही हदसम्म बिद्रोहका पात्रलाई साधारण स्पेश दिइएको छ। तर, यो पर्याप्त भएको छैन। फेरि उही पुराना अनुहारलाई र उनका आबाजले ब्यापक कभरेज पाइरहेका छन् जबकि जेनजी पुस्ताको बिद्रोहले मुलुकलाई फागुन २१ मा मध्यावधि निर्वाचनको नजिक लगिरहेको छ। अन्तरवार्ताहरुमा नयाँ सम्भावना, राजनीतिक चेतले जन्मिएका नयाँ पुस्ताको भावना र उनीहरुले देखेका देशबारेका सपनालाई मुख्य धारका मिडियाले थोरै स्पेश दिइरहेका छन्। बरु, जो यस विद्रोहपछि परिवर्तन उल्ट्याउन चहान्छ, जसलाई चुनावमा जाने रहर छैन, तिनीहरुलाई जोडदार स्पेश दिएको पाइन्छ। पत्रकारिताको मर्म यस्तो होइन। यसको मर्म आगामी पुस्ताको भावना र पुरातन दलभित्र निमोठ्न खोजिएका बिद्रोही आवाजलाई अझ सशक्त रुपमा प्रस्तुत गर्नुचाहिँ हुने थियो। हाम्रो पत्रकारिता फगत त्यो दिशामा हिँड्न र जान सकेको छैन। किनभने, पत्रकारिता गर्नेहरु, मिडिया चलाउनेहरु नै पुरातनवादी दलका नेताको सोचबाट प्रभावित, प्रायोजित र प्रकरणपन्थी रहेको शंका गर्ने सुविधा मिलिरहेको छ।