बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राष्ट्रिय बृहत् आर्थिक बहस

निजी क्षेत्रको मनोबल बढाउन सरकारले विशेष पहल गर्नुपर्छ : अध्यक्ष ढकाल

आइतबार, कार्तिक २३ २०८२

काठमाडौँ  । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउन सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

महासङ्घले शनिबार आयोजना गरेको ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ कार्यक्रममा ढकालले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको उल्लेख गर्दै, राज्यले यसको महत्व आत्मसात् गरी आमसर्वसाधारणसमक्ष बुझाउन मन्त्रिपरिषद्बाट सार्वजनिक महत्वको प्रस्ताव पारित गर्न आवश्यक रहेको बताए।

उनले दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि सबै सरोकारवालासँग समयमै संवाद र सहकार्य गरी निर्वाचनको वातावरण सुनिश्चित गर्नु आवश्यक भएको बताउँदै, निजी क्षेत्र पनि यसमा सहयोग र सहकार्य गर्न तयार रहेको उल्लेख गरे।

अध्यक्ष ढकालले अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रलाई ‘फल दिने वृक्ष’को रूपमा वर्णन गरेको स्मरण गर्दै, यसलाई संरक्षण गरेर अधिकतम लाभ लिन सकिने र मुलुक समृद्ध बनाउन सकिने बताए।

महासङ्घको प्रारम्भिक सर्वेक्षणअनुसार गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा रु ४८ अर्बको भौतिक क्षति र करिब रु ८८ अर्ब बराबरको आर्थिक नोक्सानी भएको जानकारी उनले दिए ।

ढकालले आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गर्नेहरूमाथि कडा कारबाही नहुँदा दण्डहीनता बढ्ने भएकाले दोषीलाई कुनै पनि बहानामा प्रश्रय नदिनु आवश्यक रहेकोमा जोड दिए ।

उनले नेपालमा लगानी सम्भव छैन भन्ने नकारात्मक दृष्टिकोण चिर्न महासङ्घको पहलमा नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्श र गैरआवासीय नेपाली सङ्घका सदस्यहरूसँग मिलेर नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडिपी) कम्पनी स्थापना गरिएको पनि जानकारी दिए।

ढकालका अनुसार यस कम्पनीले मुलुकभर छरिएर रहेको आन्तरिक पुँजी संकलन गरी ठूला पूर्वाधार परियोजनामा लगानी गर्नेछ । जसले लगानीकर्ताको विश्वास बढाउने र आन्तरिक पुँजीको परिचालनमार्फत ठूला परियोजना सम्भव हुने छ ।