शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

जेनजी आन्दोलन छानबिन आयोगले लियाे आइजिपी खापुङसँग स्पष्टीकरण

बिहिबार, कार्तिक २० २०८२

काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक (आइजिपी)चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण सोधेको छ।

आयोगका प्रवक्ता तथा सदस्य विज्ञानराज शर्माका अनुसार बुधबार आइजिपी खापुङलाई ‘किन कारबाही नगर्ने’ भन्ने विषयमा २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको हो।

आयोगले गठन भएको केही समयमै सो घटनामा खटिएका प्रहरी अधिकारीहरूको विवरण माग्दै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो। तर २२ दिनसम्म पनि आवश्यक विवरण नआएपछि आयोगले पुनः पत्र पठाएको थियो। त्यसको जवाफमा प्रहरी प्रधान कार्यालयले “विवरण उपत्यका प्रहरी कार्यालयमा रहेको र त्यहाँबाट पठाउन समय लाग्ने” भनेर प्रतिक्रिया दिएको थियो।

प्रधान कार्यालयले प्रत्यक्ष रूपमा दिनुपर्ने विवरण उपलब्ध नगराएको भन्दै आयोगले आइजिपी खापुङसँग स्पष्टीकरण सोधेको हो। प्रवक्ता शर्माका अनुसार, “आयोगको कार्यमा ढिलाइ र अवरोध पुर्‍याउनेहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको” छ।

यस्तै, आयोगले आइतबार प्रहरी प्रधान कार्यालयलाई पत्र पठाई भदौ २३ र २४ का घटनामा संलग्न उपत्यकास्थित प्रहरी इन्चार्ज र कमान्डरहरूलाई उपत्यका नछाड्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो। सोधपुछ र बयानका लागि उनीहरूलाई बोलाउनुपर्ने भएकाले आयोगले यस्तो व्यवस्था गर्न भनेको हो।