शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

बुधबार, कार्तिक १९ २०८२

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले नेपाल एपीएफ अस्पताल, बलम्बुमा ‘एपीएफ नेपाल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेस्’ सञ्चालनमा ल्याएको छ। यस संस्थाले स्वास्थ्य उपचार क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उद्घाटन समारोहमा नर्सिङ कोर्ष सुरु हुनु सशस्त्र प्रहरीको स्वास्थ्य सेवा र चिकित्सा शिक्षा क्षेत्रमा नयाँ आयाम थप्ने बताए। उनले नर्सिङ पेशालाई स्वास्थ्य सेवाको मेरुदण्ड भएको उल्लेख गर्दै स्वास्थ्यकर्मीहरूलाई आधुनिक, विशेषज्ञ र व्यावसायिक सीप प्रदान गर्न साथै मानवीय सेवाप्रति समर्पित बनाउने अवसर मिल्ने बताए।

महानिरीक्षक अर्यालले स्वास्थ्य र शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै भविष्यमा मेडिकल कलेज सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।

नेपाल एपीएफ अस्पतालका प्रमुख, सशस्त्र प्रहरी नायब महानिरीक्षक डा. रुपक महर्जनले इन्स्टिच्युटमार्फत आगामी दिनमा थप शैक्षिक कार्यक्रम सञ्चालन हुने बताए।

सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रले सञ्चालित उक्त इन्स्टिच्युटलाई गत वैशाखमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले आशयपत्र र साउनमा सम्बन्धन प्रदान गरेको थियो।

शैक्षिक सत्रदेखि प्रविणता प्रमाणपत्र तह (नर्सिङ) अध्ययन सुरु गरेको यस इन्स्टिच्युटमा हालसम्म सशुल्क ३६ र छात्रवृत्तितर्फ ३ गरी जम्मा ३९ विद्यार्थी भर्ना भएका छन्।