काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच मंगलबार भेटवार्ता भएको छ। खनालको विरोधका बीच माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी एमालेसहित अन्य दलसँग एकताको तयारीमा रहेको अवस्थामा खनाल ओलीको निवास गुन्डुमा पुगेका हुन्।
एमाले नेता महेश बस्नेतका अनुसार यस भेटले पुराना एमाले नेताहरूबीचको सम्बन्ध सुधार भइरहेको सङ्केत दिएको छ।
यसैसँगै विगतमा एमाले छाडेका समाजवादी दलका केही नेताहरू पनि पुनः एमालेमा फर्किने तयारीमा छन्। बस्नेतले फेसबुकमार्फत दाबी गरेअनुसार पूर्व मन्त्री समाजवादीका रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत करिब एक सयभन्दा बढी नेता–कार्यकर्ता उनीहरुकाे पुरानाे दल एमालेमा फर्कने तयारीमा रहेको जनाइएको छ।
उनीहरूले बुधबार बिहान १० बजे बबरमहलस्थित होटल बसेरामा पत्रकार सम्मेलन गरी औपचारिक घोषणा गर्ने तयारी रहेको बस्नेतले बताएका छन् ।
साथै, प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिहरू एमालेमा फर्किँदा हुन सक्ने कानुनी जटिलता (दलफेरसम्बन्धी प्रावधान र पद गुम्ने सम्भावना) विषयमा पनि छलफल भइरहेको र कानुनी सल्लाह लिइरहेको जानकारी बस्नेतले दिएका छन्।