काठमाडौं । भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक महिला एकदिवसीय ( ओडिआइ) विश्वकपको उपाधि आफ्नो नाममा लेखाउन सफल भएको छ।
फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको हो।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९८ रनको बलियो लक्ष्य प्रस्तुत गर्यो। भारतीय टप अर्डरले स्थिर प्रदर्शन गरेपछि मध्यमक्रमले स्कोर थप सुदृढ बनायो।
जवाफी लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिकाले सुरुवात राम्रो गरे पनि भारतीय बलरहरूको अनुशासित बलिङअगाडि टिक्न सकेन। बलिङतर्फ भारतकी दीप्ति शर्माले शानदार प्रदर्शन गर्दै ५ विकेट हात पारिन्। उनको धारिलो बलिङकै कारण दक्षिण अफ्रिकाको मध्यक्रम ढलेको थियो।
यस जितसँगै भारतले महिला क्रिकेटको इतिहासमा पहिलोपटक विश्वकप जित्ने उपलब्धि हासिल गरेको छ। यसअघि भारत सन् २००५ र २०१७ मा फाइनलसम्म पुगेको थियो तर उपाधिबाट वञ्चित रहँदै आएको थियो।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत टोलीलाई बधाई दिँदै यो जितले सम्पूर्ण देशलाई गौरवान्वित बनाएको प्रतिक्रिया दिएका छन्।