काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण अर्थमन्त्री रामेश्वर खनाललाई बुझाएको छ। उक्त विवरणमा आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र सम्पत्तिको एकीकृत वार्षिक विवरण पनि समावेश गरिएको छ।
महालेखा नियन्त्रक शोभाकान्त पौडेलले प्रतिवेदन बुझाउँदै सरकारको राजस्व, खर्च र मौज्दात अवस्थाको समग्र विवरण प्रस्तुत गरेका हुन्।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा सरकारले सञ्चित कोषमा रु १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखको ऋणात्मक स्थिति सामना गरेको छ। यस्तै, नगद अवस्था पनि रु ३१ अर्ब ३४ करोड ६१ लाखले ऋणात्मक देखिएको छ।
तर विभिन्न कोष र अतिरिक्त बजेटरी निकायहरूको मौज्दात रकम समेत समेट्दा सरकारको कुल नगद तथा बैंक मौज्दात रु ६५ अर्ब ८१ करोड २६ लाखले धनात्मक रहेको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता दीपक लामिछानेले जानकारी दिए