काठमाडौं । अध्यागमन विभागले भिजिट भिसामा विदेश जानेहरूका लागि सरलीकरण गरेको छ ।
विभागले शुक्रबार पत्रकार सम्मेलन गरेर अब भिजिट भिसामा विदेश जानेलाई कडाइ नगर्ने र चारवटा कागजात बुझाए सहज रूपमा विदेश जान सकिने बताएको हो । भिजिट भिसामा विदेश जानेहरूले अब अध्यागमनमा कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी र सम्बन्धित देशको भिसा देखाउनुपर्ने छ ।
अनअराइभल भिसा प्राप्त हुने मुलुक भए भिसा देखाउन नपर्ने विभागद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै, भिजिट भिसामा विदेश जानेले अध्यागमनमा प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट देखाउनुपर्ने छ ।
आफू भ्रमण गर्ने प्रयोजनका लागि जान लागेको, सोको लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहनेसमेत व्यहोराको प्रस्थान गर्ने व्यक्तिले गरेको स्वःघोषणा अध्यागमनमा देखाउनुपर्ने छ ।