काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो १ बजे नेपाल हाउस, बालुवाटारमा बृहत् राजनीतिक संवाद आयोजना गर्न लागेको छ। उक्त संवादका लागि ठूला दलहरूसँगै वैकल्पिक राजनीतिक दलहरूलाई पनि निमन्त्रणा गरिएको छ।
पार्टीका उपसभापति स्वर्णिम वाग्लेले जारी गरेको विज्ञप्तिअनुसार, लामो समयदेखि चलिआएको संसदीय अभ्यासप्रति असन्तुष्टि जनाउँदै परिवर्तनको पक्षमा उभिएका जेन–जी पुस्ताको शान्तिपूर्ण आन्दोलनपछि विकसित राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरूको संरक्षण र दीर्घकालीन रूपान्तरणका लागि यो संवाद आयोजना गर्न लागिएको हो।
रास्वपाका अनुसार, संवादको उद्देश्य आन्दोलनको उत्पत्ति र नतिजाबारे साझा बुझाइ निर्माण गर्नु, लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवर्द्धनका लागि वृहत् एकता र सहकार्यको रूपरेखा तय गर्नु, साथै आसन्न प्रतिनिधिसभा निर्वाचनलाई रणनीतिक साझेदारीका अवसरका रूपमा उपयोग गर्ने सम्भावनाबारे छलफल गर्नु रहेको छ।
