शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

जेन-जी आन्दोलनले देशलाई ठूलो क्षति पुर्‍यायो : महानिरीक्षक खापुङ

शुक्रबार, असोज ३१ २०८२

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङले गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलन र त्यसपछिका घटनाक्रमले देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको बताएका छन्।

७०औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रम मा बोल्दै उनले भने,“राज्यको सबैभन्दा अग्रपंक्तिमा सेवारत विशाल संयन्त्रयुक्त संगठनको रुपमा विकसित नेपाल प्रहरी आजसम्म नागरिकको स्नेह र आक्रोश दुवै समानान्तर रुपमा सामना गर्ने राज्यको सशक्त प्रतिनिधि बनेको छ। राजनीतिक परिवर्तन र आगामी सुरक्षा चुनौतीका बीच पनि नेपाल प्रहरीले आम नागरिकलाई शान्ति, सुरक्षा र अमनको प्रत्याभूति दिलाउँदै विश्वासयोग्य भूमिका निर्वाह गर्दै आएको छ।”

“नेपाल प्रहरी बिनाको समाज परिकल्पना गर्न सकिँदैन। देशभर ९३९ स्थानमा नयाँ प्रहरी इकाइ स्थापना र चार सयभन्दा बढी इकाइको स्तरोन्नति आवश्यक छ। यसको लागि कम्तीमा २५ हजारभन्दा बढी प्रहरी जनशक्ति आवश्यक पर्छ।” उनले भने ।

साथै, महानिरीक्षक खापुङले प्रहरीको आन्तरिक सुधारको आवश्यकता पनि औँल्याए ।

“प्रहरीभित्र शुद्धिकरण र सुधार आवश्यक छ। नागरिकले तिरेको करबाट खरिद गरिएको पोशाक लगाएर नागरिकमाथि अपशब्द र अनुचित व्यवहार कहिल्यै स्वीकार्य होइन। प्रहरीको बोली, वचन र व्यवहार सधैं जिम्मेवार र व्यवसायिक हुनुपर्छ।”

नेपाल प्रहरी सुरक्षा चुनौती र असहज परिस्थितिमा पनि नागरिकको भरोसाको केन्द्र बनेको र यसै विश्वासमा आफ्नो जिम्मेवारी पालना गर्दै आएको उनको भनाइ थियो ।