काठमाडौँ, ३१ असोज । सगरमाथा आरोहण र प्रेमकथामा आधारित नेपाली चलचित्र ‘जेरी अन टप’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। सगरमाथालाई मुख्य विषय बनाएर नेपालमै निर्माण गरिएको यो चलचित्रले विश्वकै सर्वोच्च शिखरको कथा नेपाली दृष्टिकोणबाट चित्रण गर्ने प्रयास गरेको छ।
चलचित्रका मुख्य अभिनेता अनमोल केसीले ‘जेरी अन टप’ नेपालका प्राकृतिक र पर्यटनस्थलको प्रवद्र्धनमा योगदान पुर्याउने चलचित्र बन्ने विश्वास व्यक्त गर्नुभयो। प्रदर्शनको पहिलो दिन दर्शक प्रतिक्रिया बुझ्न पुगेका केसीले भने,
“सगरमाथा हाम्रो गौरव हो, तर त्यसलाई प्राविधिक चुनौतीका बीच नेपाली स्रोत–साधनमै प्रस्तुत गर्नु ठूलो जिम्मेवारी थियो। धेरै मेहनतपछि हामीले सफलतापूर्वक चलचित्र तयार गरेका छौँ।”
चलचित्रमा अनमोल केसीले सगरमाथा चढ्ने एक युवाको भूमिका निर्वाह गरेका छन् भने अभिनेत्री जसिता गुरुङले आरोहणमा सघाउने गाइडको भूमिका निभाएकी छन्। दुबै कलाकारले अभिनयलाई यथार्थपरक बनाउन एक महिनाको प्रशिक्षण समेत लिएका थिए।
जसिता गुरुङले भनिन्,“हिमालसँग नजिकको पात्र भएकाले त्यसअनुरूप तयारी गरेकी थिएँ। चलचित्रमा दर्शकले नेपालको हिमाली सुन्दरता र संस्कृतिको गहिरो झल्को पाउनेछन्।”
त्यस्तै, अभिनेत्री आँचल शर्माले चलचित्रको नाम र कथाले नयाँ पुस्तालाई आकर्षित गर्ने विश्वास व्यक्त गर्दै भनिन्,“११ वर्षअघि ‘जेरी’ ले युवापुस्तालाई हलसम्म ल्याएको थियो। अहिले सोही अभिनेतासँग ‘जेरी अन टप’ मा अभिनय गर्न पाउँदा गर्व लागेको छ।”
चलचित्रका प्रस्तुतकर्ता सरोज न्यौपानेले भने,“यो चलचित्रले युवाको कथा र नेपालको सौन्दर्यलाई एकसाथ जोड्ने प्रयास गरेको छ। सगरमाथा आरोहणको कथा मार्फत नेपाल पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरेका छौँ।”
‘अनन्या फिल्म्स प्रोडक्सन’बाट निर्मित चलचित्रको निर्देशन सुयोग गुरुङले गर्नुभएको हो। कथा हेमराज विसी, पटकथा विश्वास तिम्सिना, र छायाङ्कन दुलिप रेग्मीले गरेका छन् ।
मुख्य कलाकारहरूमा अनमोल केसी, भुवन केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, र उषा खड्गी रहेका छन्।
‘जेरी अन टप’ लाई दर्शकहरूले प्रेरणादायी प्रेमकथा र हिमाली साहसको प्रतीक चलचित्रका रूपमा लिने अपेक्षा गरिएको छ।