काठमाडौँ । नेपाल प्रहरीले नयाँ सवारीसाधन खरिद प्रक्रिया सुरु गरेको छ। जम्मा ८५ सवारीसाधन खरिद गर्ने तयारीमा रहेको प्रहरीले यस अन्तर्गत ७५ वटा पेट्रोल पिकअप गस्ती गाडी र १० वटा विद्युतीय एस्कर्ट गाडी किन्ने योजना बनाएको हो।
नक्सालस्थित प्रहरी प्रधान कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक आपूर्तिकर्ता कम्पनीहरूलाई विद्युतीय माध्यममार्फत बोलपत्र पेश गर्न आग्रह गरेको छ।
सूचनाअनुसार आपूर्तिकर्ता कम्पनीहरूले कार्तिक १४ गते दिउँसो १२ बजेसम्म आफ्नो प्रस्ताव वेबसाइटमार्फत बुझाउनुपर्नेछ। त्यसपछि सोही दिन दिउँसो २ बजे प्राप्त बोलपत्रहरू खोलिने जनाइएको छ।
प्रहरीका अनुसार यो खरिदले दैनिक गस्ती, सुरक्षा तथा विशेष एस्कर्ट कार्यमा सहजता र गतिशीलता ल्याउने विश्वास गरिएको छ।
हालैको ‘जेनजी आन्दोलन’का क्रममा प्रहरीका थुप्रै सवारीसाधन क्षतिग्रस्त वा जलेका कारण नयाँ गाडीको आवश्यकता देखिएको हो। नयाँ सवारीसाधन खरिदपछि क्षतिग्रस्त गाडीको स्थानमा प्रतिस्थापन गरी देशभरका इकाइहरूमा परिचालन गरिने बताइएको छ।