काठमाडौं । विभिन्न सरकारी कार्यालयहरूमा जेनजी (GenZ) का नाममा गएर धम्की दिने अर्जुन बहादुर शाही पक्राउ परेका छन् । उनलाई बुधबार साँझ काठमाडौंको कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।
‘उहाँलाई हामीले कोटेश्वरबाट नियन्त्रणमा लिएका छौं, अब बाँकी अनुसन्धान अघि बढ्छ,’ एसपी भट्टराईले भने । उनका अनुसार शाही विभिन्न आपराधिक मुद्दामा फरार रहेकाले पक्राउ गरिएको हो ।
शाही ठगी र बैंकिङ कसुरका आरोपी हुन् । यसअघि पनि उनी पक्राउ परेका थिए । पत्रकार श्रीकृष्ण फुँयालले दिएको जाहेरीका आधारमा प्रहरी वृत्त महाराजगञ्जले उनीविरुद्ध अनुसन्धान अघि बढाएको थियो ।
महाराजगञ्ज वृत्तले २०८२ वैशाख ३० गते वैदेशिक रोजगार विभागलाई पत्राचार गरी शाहीलाई उपस्थित गराइदिन आग्रह गरेको थियो । विभागले वैदेशिक रोजगार ठगी मुद्दामा उनलाई पक्राउ गरी अनुसन्धान गरेको र मुद्दा टुङ्ग्याएपछि प्रहरीलाई बुझाएको थियो ।
प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दर्ता गरिएको थियो । बैंकिङ कसुर मुद्दामा शाही ३० हजार धरौटीमा छुटेका थिए । प्रहरी वृत्त बौद्धले पनि उनीविरुद्ध बैंकिङ कसुर मुद्दा चलाएको थियो ।
शाहीले होमराज खपाङ्गी मगरसँग मिलेर रेड स्टार प्रोडक्सन एन्ड मिडिया हाउस सञ्चालन गरेका थिए । सो कम्पनीको तर्फबाट पत्रकार फुँयाललाई दिएको चेक अस्वीकृत भएपछि फुँयालले प्रहरीमा जाहेरी दिएका थिए ।
हाल शाहीविरुद्ध ठगी र बैंकिङ कसुरका तीन मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छन् । यति हुँदा हुँदै उनले पछिल्ला दिनमा जेनजीको नाममा विभिन्न सरकारी अधिकारीहरूलाई धम्क्याउँदै हिँडेका थिए ।
उनको टोलीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेर ‘ज्ञापन पत्र’ को नाममा धम्की दिएका थिए । सम्बन्धित अधिकारीहरूलाई काम गर्न नसके राजीनामा दिनुपर्ने चेतावनीसमेत दिइएको थियो ।
जेनजी प्रदर्शनपछि सुशीला कार्की प्रधानमन्त्री बनेको अवसरमा शाही शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा समेत देखिएका थिए । त्यहाँ उनले हामी नेपालका संयोजक सुदन गुरुङसँग हात उठाएको तस्वीर सार्वजनिक भएको थियो ।
शाहीको समूहले संवैधानिक निकाय र उच्च पदस्थ सरकारी अधिकारीहरूलाई धम्क्याउँदै आएको जानकारी गृह मन्त्रालयसम्म पुगेको बताइन्छ ।