काठमाडौं । महोत्तरीको मनराशिसवा नगरपालिका–२ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित सोनमा गाउँपालिका–१ बस्ने ३१ वर्षीय रामभरोश यादवलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी समेतबाट खटिएको प्रहरीले सरपल्लोबाट भोल्हीतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी महोत्तरीको बर्दिबास नगरपालिका–४ बाट अवैध लागूऔषध गाँजा करिब १० किलो ४ सय ८२ ग्राम सहित सर्लाही हरिवन नगरपालिका–४ बस्ने २३ वर्षीय डेनिस घिसिङ समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ ।
मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित सोही महानगरपालिका–११ बस्ने २८ वर्षीया रन्जिता राय अमातलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–२० राँझा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ट्याब्लेट, नाईट्राभेट ४ सय १० ट्याब्लेट र स्पास्मो ३२ ट्याब्लेट सहित जाजरकोट भेरी नगरपालिका–३ स्याला बस्ने २२ वर्षीय राजन बिक समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट राँझाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–१७ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ९ सय ९० ट्याब्लेट र डिकोलिक ३ हजार ९ सय ९० ट्याब्लेट सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१० बस्ने ३३ वर्षीय फिरोज मोहमद र उदयपुर त्रियुगा नगरपालिका–७ बस्ने १९ वर्षीय दिपक मगर रहेका छन् । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले धरानबाट चतरातर्फ जाँदै गरेको प्र.१–०५–००१ ह ०१४७ नम्बरको अटोमा उक्त लागूऔषध फेला पारी चालक फिरोज र अटोमा सवार दिपकलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।