काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक ९एआईजी० देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दर्ता गरेको छ ।
एक युट्युब च्यानलमा भएको अन्तर्वार्ताका क्रममा सुवेदीले जेन-जी आन्दोलन सुरु हुनुभन्दा दुई दिनअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासबाट दुई वटा ट्रकमार्फत् दुई करोड रुपैयाँ निकालिएको दाबी गरेका थिए ।
माओवादी केन्द्रले बिहीबार उक्त अभिव्यक्तिको खण्डन गर्दै आइतबार साइबर व्युरोमा आधिकारिक उजुरी दर्ता गरेको हो । प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार उजुरीमा सुवेदीले झुठा र भ्रामक सामग्री प्रवाह गरी भ्रम फैलाउने तथा पार्टी नेतृत्वको चरित्रहत्या गर्ने उद्देश्यले अभिव्यक्ति दिएको आरोप लगाइएको छ ।
“सामाजिक सञ्जालमार्फत् पार्टी नेतृत्वमाथि गरिएको चरित्रहत्या गम्भीर साइबर अपराध हो,” प्रचण्डको सचिवालयले भनेको छ, “संयोजकको सचिवालयका तर्फबाट हिजो नेपाल प्रहरीको साइबर व्युरोमा उजुरी दर्ता गरिएको छ । डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले आवश्यक अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरिएको छ ।”