ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २८ गतेका लागि तय गरिएको छ ।
असोज २३ बाट सुरु भएको केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी तथा कार्यसम्पादन समितिको बैठक आइतबार सम्पन्न भए पनि केही तयारी आवश्यक भएकाले निर्धारित मितिभन्दा दुई दिनपछि बैठक सारिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
उहाँका अनुसार हाल सम्पन्न बैठकमा भदौ २३ र २४ का घटनाले राष्ट्रिय राजनीतिसँगै पार्टीभित्र पारेको प्रभावबारे गम्भीर छलफल भएको थियो । साथै, घोषित निर्वाचन, संसद् पुनःस्थापना र पार्टी महाधिवेशनका तयारीबारे समेत विस्तृत रूपमा विचारविमर्श गरिएको उनले बताए।
डा. महतका अनुसार कार्यसम्पादन समितिको बैठकले दिएको परामर्शलाई सभापति शेरबहादुर देउवासँग छलफल गरी केन्द्रीय समितिको बैठकका एजेन्डा तय गरिनेछ ।