काठमाडौं । नेपाली कांग्रेसले आगामी दिनमा बाढी–पहिरोको जोखिम उच्च हुने अनुमान गर्दै सरकार, राजनीतिक दल र नागरिक सबैलाई सतर्क रहन आग्रह गरेको छ ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै असोज १८ गते शनिबार साँझदेखि सक्रिय हुने पूर्वानुमान गरिएको भारी वर्षा प्रणालीले ठूलो जोखिम निम्त्याउन सक्ने भएकाले तत्काल तयारी र प्रतिकार्यमा जुट्नुपर्ने बताएका छन्।
गत वर्ष असोज १२ गते र यस वर्ष भदौ २३–२४ मा भएका बाढी–पहिरो घटनाबाट देशले ठूलो जनधनको क्षति व्यहोरेको स्मरण गर्दै उनले पुनः त्यस्तै विपद् दोहोरिन सक्ने चेतावनी दिएका छन् ।
कांग्रेसले विज्ञप्तिमार्फत सात बुँदे सतर्कता सुझाएको छ, जसअनुसार यात्रुहरुलाई समयमै सूचना प्रवाह गर्ने, सरकारले दिने निर्देशन पालना गर्ने, जोखिम क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने, आवश्यक अवधिसम्म पहाडी सडक बन्द गर्ने, स्थानीय तह र स्वयंसेवकलाई सक्रिय गर्ने, साधन–स्रोत तयारी अवस्थामा राख्ने तथा जोखिम क्षेत्रमा केही दिनका लागि अन्य गतिविधि रोक्ने भनिएको छ ।
‘सरकारले युद्धस्तरमा सजगता र तयारी राखोस्, सम्भावित विपद् सामना गर्न सबै जिम्मेवार ढंगले जुटौं,’ विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले आफ्ना सबै तहका कार्यकर्तालाई समेत आफू कार्यरत क्षेत्रमा विपद् व्यवस्थापनमा स्वयंसेवकका रूपमा सक्रिय रहन आह्वान गरेको छ ।