काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई लक्षित गर्दै गम्भीर आरोप लगाएका छन् ।
सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उहाँले अध्यक्ष दाहालले एकता देखाएर महाधिवेशन सार्ने वा आफूले चुनेका प्रतिनिधिबाट फेरि आफू नै चुनिने खालको प्रक्रियामा लागेको आरोप लगाए ।
भुसालका अनुसार, “आन्तरिक लोकतन्त्रको भयंकर ठूलो अभ्यास” देखाउने नाममा गरिएका गतिविधिले पार्टीभित्र मात्र होइन, समाजमै संकट थप्ने खतरा रहेको छ । उनले पुराना नेताहरुलाई पार्टीबाट बिदा गर्नेबाहेक अर्को विकल्प नभएको पनि स्पष्ट पारे ।
“हाम्रो प्रचण्डजी अरु केही एकता गरेर महाधिवेशन सार्ने वा आफ्नै चुनेका प्रतिनिधिबाट फेरि चुनिने प्रक्रियामा लाग्नुभएको छ । यसले समाजमा विश्वास आर्जन गर्न सकेको छैन,” उनले भने ।
भुसालले नेपाली काँग्रेससमेत नेतृत्वगत अनिश्चिततामा रहेको भन्दै अरु दलहरू संकटतर्फ गएको टिप्पणी गरे। उनले वामपन्थीहरूले समाजवादको आधार स्पष्ट र व्यावहारिक बनाउनुपर्ने औंल्याउँदै, “१० वर्षभित्र बेरोजगारी र कुशासन अन्त्य गर्ने संकल्प नै समाजवादको आधार हो,” भने ।
महासचिव भुसालले अहिलेका शीर्ष नेताहरूलाई बिदा गरेर नयाँ पुस्ताले बाटो कोर्नुपर्ने आवश्यकता औंल्याए ।