शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

तत्कालीन प्रधानमन्त्री ओलीसहित तीन नेतालाई राजनीतिक गतिविधिमा रोक लगाउनुपर्ने रास्वपाको माग

बिहिबार, असोज ९ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘जेनजी आन्दोलन’मा दमन गरेको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक गतिविधिमा रोक लगाउन माग गरेको छ।

मंगलबार र बुधबार बसेको केन्द्रीय समितिको बैठकपछि प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भदौ २३ र २४ गते भएको आन्दोलनमा राज्य पक्षबाट भएको दमन र हिंसाको छानबिन प्रतिवेदन नआएसम्म तिनै मन्त्रीलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन बन्देज लगाउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउने।”

बैठकले २०४६ सालदेखि उच्च पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न दबाब दिने, साथै ‘जेनजी आन्दोलन’का क्रममा नेताहरूको घरमा भेटिएका अवैध नगद तथा सम्पत्तिको सत्यतथ्य पत्ता लगाउन सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

त्यस्तै, पार्टीका सभापति रवि लामिछानेलाई नक्खु कारागारबाट भगाउने घटनामा आफ्ना सदस्य संलग्न भए नभएकोबारे आन्तरिक छानबिन गर्ने निर्णय पनि बैठकले गरेको छ।