शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रास्वपामा उठ्यो ‘अर्लि महाधिवेशन’को माग

आइतबार, असोज ५ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र परिवर्तित राजनीतिक परिस्थिति र आगामी चुनावलाई लक्षित गर्दै ‘अर्लि महाधिवेशन’बारे बहस सुरु भएको छ।

पार्टीकी कार्यवाहक प्रवक्ता मनिषा झाले मध्यावधि निर्वाचनको सम्भावना देखिँदै महाधिवेशन मिति अगाडि सार्ने विषयमा छलफल भइरहेको स्वीकार गरेकी छन्। तर, उनले केन्द्रीय समितिले यसबारे कुनै औपचारिक निर्णय नगरिसकेको स्पष्ट पारिन्।

झाका अनुसार केही नेताहरुले आउँदो मंसिरमै महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्। “दसैँ सकिएलगत्तै युद्धस्तरमा तयारी गर्ने हो भने अर्लि महाधिवेशन सम्भव हुन्छ,” उनले भनिन्, “त्यसका लागि कार्यतालिका र निर्णयमा हेरफेर आवश्यक पर्छ।”

रास्वपाले यसअघि २०८२ फागुन ७ देखि ९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर, प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते तोकिएको कारणले महाधिवेशन मिति अगाडि सार्ने प्रस्ताव उठेको झाले बताइन्।

पार्टीले यसअघि असोजभित्र वडा अधिवेशन, कात्तिकभित्र पालिका, मङ्सिरमा जिल्ला र माघ १५ सम्म प्रदेश अधिवेशन सम्पन्न गरी फागुनमा केन्द्रीय महाधिवेशन गर्ने योजना बनाएको थियो।

रास्वपा करिब ३९ महिनाअघि  सभापति रवि लामिछानेको नेतृत्वमा स्थापना भएको थियो।

स्थापना भएको केही महिनामै संसदीय चुनावमा चौथो ठूलो शक्ति बनेको यो पार्टी भित्र सुरु देखिएको महाधिवेशन बहसलाई संगठन सुदृढीकरणको अवसरका रुपमा लिइएको छ।