काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानलाई नेपाली जनताले पटक–पटक गरेका क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।
संविधान दिवसका अवसरमा शुक्रबार जारी सन्देशमा उनले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलन र क्रान्तिबाट प्राप्त उपलब्धिको परिणामस्वरूप संविधानसभामार्फत संविधान जारी भएको स्मरण गराए ।
सभापति देउवाले आफ्नो जीवन आहुति दिने वीर सहिदहरूलाई उच्च सम्मान व्यक्त गर्दै संविधान दिवसमा श्रद्धाञ्जली अर्पण गरे । साथै, असोज ३, २०७२ मा कांग्रेस नेतृत्वमा निर्वाचित प्रतिनिधिबाट संविधान घोषणा भएको उल्लेख गर्दै उनले यसले लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय र सबैको समान अधिकार सुनिश्चित गरेको बताए ।
संविधान जारी भएको एक दशक पूरा भएको ऐतिहासिक दिनलाई गौरवका साथ स्मरण गर्नुपर्ने भन्दै उनले प्रत्येक वर्ष संविधान दिवसलाई स्वतन्त्रता, समानता र सहअस्तित्वको उत्सवका रूपमा मनाउनुपर्नेमा जोड दिए ।
देउवाले न्याय, समानता, स्वतन्त्रता र बहुलवादमा आधारित बहुदलीय संसदीय व्यवस्थाका लागि बलिदान दिने महान् सपुतहरूको योगदानलाई उच्च सम्मान गर्दै सबै नेपालीमा संविधान दिवसको शुभकामना व्यक्त गरेका छन् ।