काठमाडौं । नेपाली सेनाका लान्स कर्पोरल हरिचन्द्र गिरीले गिनिज वर्ल्ड रेकर्डसमा छैटौं कीर्तिमान थपेका छन्।
‘द ब्रिटेन्स गट ट्यालेन्ट’ टिभी शोमा अडिसन दिन लन्डन पुगेका बेला गिरीले हातमा टेकेर उल्टो अवस्थामा आधा लिटर (५०० एमएल) कागती रस २४ सेकेन्डमै पिएर नयाँ रेकर्ड बनाएका हुन्।
उनले सेप्टेम्बर १० मा लन्डनस्थित गिनिज अफिसमा उक्त उपलब्धि हासिल गरेका थिए।
गिरीले भने, “उल्टोबाट पिउन झन् गाह्रो हुन्छ रहेछ। कागती पिएपछि तीन दिनसम्म दाँत कुँडिएर चपाउनै नसक्ने भएँ। तर केही दिनको अभ्यासपछि सफल हुन सकेँ, खुशी छु।”
यसअघि पनि गिरीले पाँच पटक विश्व कीर्तिमान कायम गरिसकेका छन्।
सन् २०२१ मा हातमा टेकेर भर्याङको ५० खुड्किला १२.६५ सेकेन्डमा झरेर पहिलो रेकर्ड बनाएका थिए।
सन् २०२२ मा दुईवटा नयाँ रेकर्ड थपे—खुट्टाको बीचमा फुटबल च्यापी हातमा टेकेर २५.५८ सेकेन्डमा ५० मिटर र ४.४९ सेकेन्डमा १० मिटर हिँड्ने।
सन् २०२३ मा हातमा टेकेर २५.०३ सेकेन्डमा ७५ खुड्किला झरेर चौथो रेकर्ड कायम गरे।
त्यसपछि गुड्ने टायरमाथि एक मिनेटमै १२० पटक स्किपिङ गरेर पाँचौं रेकर्ड कायम गरेका थिए, जुन गिनिज बुक अफ रेकर्डमै पहिलोपटक समावेश भएको थियो।
गिरीले हालै ‘ब्रिटेन्स गट ट्यालेन्ट’मा तीन मिनेटभित्र आँखा नहेरी उल्टो अवस्थामा भर्याङ चढ्ने–ओर्लने कला प्रस्तुत गरेका छन्। यस क्रममा उनले वैशाखी ब्यालेन्स र खुकुरी ‘प्याट्रन’ समेत देखाएका थिए। यसको नतिजा अक्टोबर १७ मा सार्वजनिक हुने छ।
३१ वर्षीय गिरी दाङका स्थायी बासिन्दा हुन्। उनले १२ वर्षअघि नेपाली सेनामा प्रवेश गरेका थिए।