काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय संविधानविरोधी, अलोकतान्त्रिक र जनविरोधी भएको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको उक्त कदमले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गरेको उल्लेख गरे।
उनले भनेका छन्, “वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको छ। सामाजिक सञ्जाल बन्द गर्ने यो निर्णय संविधानविरोधी मात्र नभई सर्वोच्च अदालतले सामाजिक सञ्जाल प्रकाशन र प्रसारणसम्बन्धी कानूनी व्यवस्था गर्न दिएको आदेशको अपव्याख्या समेत हो।”
प्रचण्डले यो निर्णयले वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्क तथा सञ्चारलाई जटिल र असहज बनाएको बताउनुभयो। उहाँले थप्नुभयो, “यसले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता मात्र होइन, देशको अर्थतन्त्रलाई टेवा दिइरहेका वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्कलाई समेत प्रभावित गरेको छ।”
उनले आफ्नो पार्टी सामाजिक सञ्जालको नियन्त्रण होइन, उचित नियमनको पक्षमा रहेको स्पष्ट पारे। “संसदमा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागिता र अपनत्व हुने गरी अघि बढाउनुको सट्टा कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ,” उनले भने।
अध्यक्ष प्रचण्डले संविधान प्रदत्त अधिकारको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको सम्मान र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उक्त निर्णय तत्काल खारेज गर्न जोडदार माग गरेका छन्।