काठमाडौं । नेकपा (माओवादी केन्द्र) को कोशी प्रदेश समिति सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमाथि कठोर प्रश्न उठेका छन्।
बिहीबार बसेको बैठकमा प्रदेशस्तरीय नेताहरूले पार्टीभित्रको अनुशासनहीनता, आन्तरिक किचलो र नेतृत्वको भूमिकाप्रति कडा आलोचना गरेका हुन्।
बैठकमा एक सचिवालय सदस्यले प्रचण्डमाथि नै “असुली धन्दा” को आरोप लगाउँदा हलमा रहेका अन्य नेताहरूले ताली बजाएको विषयलाई लिएर तीव्र प्रश्न उठाइएको थियो। एक नेताले भने, “सुशासन, सामाजिक न्याय र भ्रष्टाचारविरोधी अभियानमा माओवादी र प्रचण्डलाई नेतृत्वकर्ता मान्छौं। तर, यही हलमा प्रचण्डसमेत भ्रष्ट भएको आरोप लाग्दा थपडी बजाउने साथीहरू देख्दा के हुन लागेको हो भन्ने प्रश्न उठ्छ।”
नेताहरूले १८ महिने सरकारका काम र त्यसपछिको पार्टी अभियानले ल्याएको उत्साह, संसद् सञ्चालनका लागि भएको दुई बुँदे सहमतिले कमजोर पारेको दाबी गरे। प्रदेशस्तरीय नेताहरूले विचार बहसलाई प्रोत्साहन गर्नुपर्ने तर गुटबन्दी र गिरोहबाजीकै नाममा गतिविधि बढेको भन्दै नियन्त्रणको माग गरे।
त्यसैगरी, विचार बहसकै आधारमा कारबाही गर्ने परम्परा नदोहोर्याउन, पार्टी किन कमजोर हुँदै गयो भन्ने आत्मसमीक्षा गर्न र संगठनात्मक अराजकता नियन्त्रण गर्नुपर्नेमा जोड दिइयो। नेताहरूले नेतृत्वलाई हल्का अभिव्यक्ति नदिने, शीघ्र प्रतिक्रिया नदेखाउने र स्थायी कमिटी बैठकपछि उत्पन्न अराजकतामूलक प्रयास रोक्नुपर्ने माग राखेका थिए।