काठमाडौं । जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’ को चौथो स्मृति दिवस तथा स्रष्टा सम्मान कार्यक्रम यसबर्ष विराटनगरमा आयोजना हुने भएको छ । भाद्र १४ गते शनिबार दिउँसो २ बजे देखि विराटनगर–५ स्थित एभरेस्ट सेकेन्डरी स्कुलमा कार्यक्रम सुरु हुनेछ।
हरेक बर्ष झै यस बर्ष पनि समाजमा विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई कार्यक्रममा सम्मान गरिने जेबी टुहुरे फाउन्डेसकी अध्यक्ष निर्भिका टुहुरेले जानकारी दिइन् ।
यस वर्षको सम्मान छनोट समितिमा राजेश थापा संयोजक रहेका छन् भने सदस्यहरूमा रञ्जित तामाङ, चोटलुंग पोख्वाहांग, मनिष खड्गी, वासिम आलम, शोभा देवी खड्गी राई रहेका छन्।
को हुन् जेबी टुहुरे ?
जेबी टुहुरेको नाम जुठबहादुर खड्गी हो । उनी सुनसरीको धरानमा २००१ कात्तिक १५ गते जन्मिएका हुन्। २०२१ सालमा पिता कृष्णबहादुर खड्गीको निधन भएपछि उनले आफ्नो नामको पछाडि टुहुरे लेख्न थालेका हुन् ।
टुहुरे २०२० को दशकदेखि कम्युनिष्ट विचारधारासँग नजिक भएर २०२४ सालदेखि जनताका गीत गाउन थालेका हुन् । ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई…’ उनको सबैभन्दा लोकप्रिय गीत हो । त्यस्तै ‘बसाइँ हिँड्नेको ताँतीले…’लगायत उनले १५० भन्दा बढी जनवादी गीत गाएका हुन्।
जेबी टुहुरेले पूर्वी पहाडका बस्तीबस्तीहरूमा पुगेर परिवर्तनका गीत सुनाए । जेबी टुहुरेले गाएका गीतमा समाज परिवर्तनका अलावा मानवीय संवेदना प्रशस्तै बोकेको पाइन्छ। साथै पृथक खालको उनको स्वर र जीवनस्तर सुहाउँदो गीतले मध्यम र निम्नमध्यम वर्गीय समाजका नागरिकलाई पनि सम्बोधन गरिएको पाइन्छ। उनका सबै गीतहरु कम्युनिष्टहरुका वैचारिक खुराकको रुपमा स्थापित छन् ।
राजनीतिक रुपमा उनको आवद्धता माले, एमाले हुँदै पछिल्लो समय माओवादी केन्द्रमा थिए । दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट सभासद बनेका उनी जनसांस्कृतिक महासंघका संरक्षक र माओवादीका सल्लाहकार थिए । विराटनगर १२ स्थित बखरीमा रहेको आफ्नो घरमा उनले लामो समय बिताएका थिए ।
२०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउन्डेसन समेत स्थापना गरिएको छ ।