काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई उखु किसानहरूको आन्दोलनलाई समर्थन जनाउन मंगलबार माइतीघर मण्डला पुगेका छन्।
सरकारले प्रतिक्विन्टल ७० रुपैयाँको अनुदान रकम घटाएर ३५ रुपैयाँ मात्र दिने निर्णय गरेपछि आन्दोलित उखु किसानले आइतबारदेखि निरन्तर प्रदर्शन गरिरहेका छन्।
बजेट अभाव देखाउँदै गरिएको सो निर्णयले किसानलाई अन्याय भएको भन्दै उनीहरू सडकमा उत्रिएका हुन्।
सोमबार किसानहरूले उखु बोकेरै प्रदर्शन गरेका थिए । उनीहरूले अनुदान रकम कटौती गर्ने निर्णय फिर्ता गरी पहिलेको दरमै कार्यान्वयन गर्न माग गरेका छन्।
उखु उत्पादक महासंघको नेतृत्वमा भइरहेको आन्दोलनमा सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीका किसानहरू सहभागी भएका छन्।