शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रचण्डप्रति जनार्दनको कटाक्ष : शेषनागले पृथ्वी बोकेको कुरा दन्तेकथा मात्र

आइतबार, भाद्र ८ २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोक्ने कथा अब दन्ते मात्र भएको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले शेषनागले कतै पनि पृथ्वी नबोकेको स्पष्ट गर्दै, “शेषनागले पृथ्वी बोकेको कुरा र त्यसले हल्लाउँदा भूकम्प आउँछ भन्ने विश्वास दन्तेकथा मात्र हो,” भने।

उनले विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्नेबारे स्पष्ट प्रमाण प्रस्तुत गरिसकेको भन्दै अन्धविश्वासमा नफस्न चेतावनी दिए। शर्माले थपे, “शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन, र भविष्यमा बोकिने पनि होइन। अब विज्ञानले प्रमाणित गरिसकेको छ—पृथ्वी चल्छ तर ढल्दैन।”

उनको भनाइअनुसार, पृथ्वी कसैले छोड्दा वा समात्दा पनि ढल्ने कुरा नभई वैज्ञानिक तथ्यअनुसार पृथ्वी स्वतन्त्र रुपमा आफ्नो गतिमा रहेको छ।

यस्तै सोही कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले दाहालप्रति लक्षित गर्दै “राजनीति छोड्दा गल्र्यामगुर्लम्म हुने के छ ?” भन्ने प्रश्न उठाएका छन्।

उनले नेपालमा कतिपय नेताले आफूले राजनीति छोडेपछि सबै ढल्ने जस्तो धारणा बनाउने गरेको बताए। उनले प्रश्न गर्दै भने, “सारा पृथ्वी नै बोकेको जस्तो के छ ? छोड्नै नमिल्ने गरी किन समातेर बस्ने ?”

उनले केही दिनअघि दाहालले दिएको भनाइ- “मैले छोडेँ भने सबै गल्र्यामगुर्लम्म ढल्ने हो कि भन्ने लाग्छ” – लाई व्यंग्य गर्दै त्यसलाई राजतन्त्रको शैलीको सोच ठहर गरे। रिजालले राजनीतिक दलमा पुस्तान्तरण राजतन्त्रमा जस्तो नहुने, बरु जसले सक्छ उसैले नेतृत्व लिन सक्ने अवस्था रहने उल्लेख गरे।

काँग्रेसबारे टिप्पणी गर्दै उनले भने, “काँग्रेसमा धुलो, तुवाँलो लागेको छ। त्यो पुछ्ने मात्र हो। पुछ्न सके काँग्रेस फेरि काँग्रेस जस्तै देखिन्छ।”