काठमाडौं । आजदेखि सिनेमाघरमा तीन चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबारदेखि ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ चलचित्र प्रदर्शनमा आएका हुन् ।
ऋषि लामिछानेको निर्देशनमा बनेको चलचित्र ‘माग्ने राजा’मा केदारसँगै वर्षा सिवाकोटी, विल्सन विक्रम राई (तक्मे बुढा), शारदा गिरी, शिशिर वाङ्देललगायतको अभिनय छ । यसमा आर्यन सिग्देलको पनि विशेष भूमिका छ । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गरेका हुन् । मुनाल घिमिरे प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता मधुसुदन शर्मा हुन् ।
यस्तै चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा चलचित्रमा विजय, केकीसँगै भोलाराज सापकोटा, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतका कलाकारको अभिनय छ ।
त्यस्तै आजदेखि सिनेमाघरमा आएको चलचित्र ‘ताराहरू’लाई आशान्त शर्माले निर्देशन गरेका छन् । शर्मा स्वयंको मुख्य भूमिका रहेको यो चलचित्रमा मेनुका प्रधान, कुन्दुन शाक्य, आभास अधिकारी, मिरा खड्का, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत कलाकारको अभिनय छ ।