भदौ ८ गतेदेखि कडा आन्दोलन गर्ने चेतावनी
काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षासम्बन्धी विधेयक–२०८० संशोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
नेपाल प्राइभेट एण्ड बोर्डिङ स्कुल्स अर्गनाइजेसन (नेपाब्सन) र प्याब्सन केन्द्रीय समितिले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकमा राखिएका केही प्रावधानले निजी विद्यालयहरूको अस्तित्व नै सङ्कटमा पार्ने भन्दै आपत्ति जनाएका हुन्।
सञ्चालकहरूले भोलि विहान ११ देखि १ बजेसम्म माइतीघर मण्डलाबाट नयाँबानेश्वर चोकसम्म रत्यौली निकालेर पुनः कोणसभा गर्ने कार्यक्रम घोषणा गरेका छन्। यस्तै, ६ गते बिहान ११ बजे देशभरका विद्यालय बसलाई विद्यालय नजिकका चोकमा उतारेर नगर परिक्रमा गर्ने र काठमाडौं उपत्यकामा २७ किमी चक्रपथमा कालो झण्डा र व्यानरसहित याली गर्ने तयारी गरिएको छ। दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भएर शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसहित सङ्घीय संसद् घेराउ र धर्ना गर्ने कार्यक्रमसमेत तय गरिएको छ।
प्याब्सन र एनप्याब्सनले ५ बुँदे मागसहित नेपाल सरकार, शिक्षा मन्त्रालय, सङ्घीय संसद्को सम्बन्धित समिति र प्रमुख राजनीतिक दलहरूलाई पटक–पटक ध्यानाकर्षण गराए पनि सम्बोधन नभएको आरोप लगाएका छन्। उनीहरूले २९ गतेदेखि पहिलो चरणको आन्दोलन सुरु गरिसकेको र भदौ ८ गतेदेखि निर्णायक चरणमा प्रवेश गर्ने घोषणा गरेका छन्।
सञ्चालकहरूले विधेयक यथास्थितिमा पारित भए सरकारकै घोषित शिक्षा नीतिका लक्ष्यहरू गम्भीर रूपमा प्रभावित हुने चेतावनी दिँदै, निजी क्षेत्रमैत्री, व्यवहारिक, न्यायपूर्ण र समावेशी शिक्षा ऐन ल्याउन माग गरेका छन्।