काठमाडौं । हिमालयन बैंकको खुद मुनाफामा सुधार देखिएको छ । बैंकले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा एक अर्ब ५१ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ दशमलव १५ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकले एक अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
गत आवको चौंथौ त्रैमासमा बैंकको खुद ब्याज आम्दानी नौं दशमलव ९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६० दशमलव ९८ प्रतिशतले घटेको छ । यसैगरी बैंकको कुल सञ्चालन आम्दानी चार दशमलव ७२ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा ८८ दशमलव ४१ प्रतिशत बढेको छ । यस अवधिमा बैंकको इम्पेरिमेन्ट चार्ज पाँच अर्ब २६ करोड रुपैयाँबाट घटेर एक अर्ब ५३ करोड रुपैयाँमा झरेको छ । जसका कारण सञ्चालन मुनाफा र खुद नाफा बढेको हो ।
अघिल्लो आवको अन्त्यमा चार दशमलव ९८ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा बढेर सात दशमलव २८ प्रतिशतमा पुगेको छ । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा सात अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३२ रुपैंयाँ ७९ पैसाले ऋणात्मक रहेको छ । यस अवधिमा नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (इपीएस) पनि बढेको छ । गत आवको असार मसान्तसम्म बैंकको आम्दानी एक रुपैंयाँ २७ पैसाले बढेर छ रुपैंयाँ ९८ पैसा पुगेको छ । यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ एक सय ७५ रुपैयाँ सात पैसा रहेको छ ।
हाल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब २५ करोड रुपैयाँ सञ्चित रहेको छ ।