काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा पदबाट राजीनामा दिने भएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार साँझ लामो बुढानिलकण्ठस्थित निवासमा बोलाई राजीनामा दिन निर्देशन दिएका थिए। कांग्रेस बागमती संसदीय दलको नेताबाट पहिले नै पदमुक्त भएका लामालाई देउवाले मार्गप्रशस्त गर्न स्पष्ट रूपमा आग्रह गरे ।
देउवाको निर्देशनपछि शुक्रबार बिहान आफ्ना निकट सहयोगीहरूसँग सल्लाह गरेका मुख्यमन्त्री लामाले पार्टीको शीर्ष नेतृत्वको निर्देशनअनुसार अघि बढ्ने निर्णय गरे ।
दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएपनि लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान राख्दै आएका थिए । तर, देउवाको निर्देशनपछि हेटौंडा फर्केर राजीनामा दिने आफू निकटका नेताहरूलाई जानकारी गराउनु भएको बुझिएको छ ।
कांग्रेस सांसद तीर्थ लामाका अनुसार बहादुरसिंह लामा आज या भोलि भित्र राजीनामा दिने तयारीमा छन् ।