काठमाडौँ । वैदेशिक रोजगारीका लागि बाहिरिनेको सङ्ख्या बढ्दा नेपाल भित्रिने विप्रेषण निरन्तर उकालो लाग्न थालेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार विप्रेषण बढ्ने क्रम जेठमा भने अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ ।
केन्द्रीय बैङ्कले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनासम्मको आर्थिक तथा वित्तीयसम्बन्धी प्रतिवेदनले जेठमा अहिलेसम्मकै सबैभन्दा धेरै अर्थात् एक खर्ब ७६ अर्ब रुपियाँ विपे्रषण भित्रिएको देखाएको हो । गत आवको जेठमा यस्तो आप्रवाह एक खर्ब २९ अर्ब रुपियाँ थियो ।
विप्रेषण आप्रवाह गत वर्षको ११ महिनासम्मको तुलनामा भने १५.५ प्रतिशतले बढेर १५ खर्ब ३२ अर्ब ९३ करोड रुपियाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । गत आवको जेठसम्म यस्तो आप्रवाह १३ खर्ब २७ अर्ब रुपियाँ थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या करिब ३१ हजारले बढेर चार लाख ५२ हजार नाघेको छ । त्यस्तै पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४७ हजारले बढेर तीन लाख आठ हजार नाघेको छ । श्रम स्वीकृति लिनेको सङ्ख्या उल्लेख्य बढ्दा पनि विपे्रषण आप्रवाह बढ्दो देखिन्छ ।
विप्रेषण बढ्दा त्यसले नेपाल भित्रिने र बाहिरने रकमबिचको अन्तर जनाउने शोधनान्तर अवस्था पनि उच्च रूपले बचतमा पु¥याएको छ । प्रतिवेदन अनुसार ११ महिनासम्म शोधनान्तर स्थिति चार खर्ब ९१ अर्ब रुपियाँले बचतमा रहेको छ । गत आवको सोही अवधिसम्म यस्तो स्थिति चार खर्ब २५ अर्ब रुपियाँले बचतमा थियो ।
त्यस्तै वस्तु तथा सेवा व्यापार, वैदेशिक लगानीबापतको आम्दानी, अनुदान तथा विप्रेषणसमेत गणना हुने चालु खाता पनि तीन खर्ब रुपियाँभन्दा बढीले नाफामा रहेको केन्द्रीय बैङ्कले जनाएको छ । चालु खाता गत आवको सोही अवधिमा दुई खर्ब रुपियाँले बचतमा थियो ।
बढ्दो विप्रेषण र निर्यातले नेपालमा विदेशी मुद्रा थुप्रिन थालेको छ । राष्ट्र बैङ्कका अनुसार २०८१ असारमा १८ खर्ब ४८ अर्ब रुपियाँ बराबर विदेशी मुद्रा सञ्चिति रहेकोमा २०८२ जेठसम्म २३ प्रतिशतले बढेर २२ खर्ब ७४ अर्ब रुपियाँ पुगेको छ । कुल विदेशी मुद्रामध्ये भारतीय मुद्राको अंश २० प्रतिशत रहेको छ । नेपालसँग रहेको विदेशी मुद्राको सञ्चितिले १७ महिनाको वस्तु र करिब १५ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ ।
वैदेशिक मुद्रा सञ्चितिमा निर्यात वृद्धिको योगदान पनि रहेको छ । ११ महिनासम्म नेपालको निर्यात ७७.८ प्रतिशतले बढेर दुई खर्ब ४७ अर्ब रुपियाँ पुगेको उल्लेख छ । नेपालबाट मुख्य रूपमा भटमासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया, खोटोलगायतका वस्तुको निर्यात बढेको छ । समीक्षा अवधिमा आयात १३.१ प्रतिशतले बढेर १६ खर्ब ४४ अर्ब रुपियाँ पुगेको छ । कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले बढेर १३ खर्ब ९७ अर्ब रुपियाँ नाघेको छ ।