शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

निर्यात व्यापारमा ७७ प्रतिशतले बृद्धि

११ महिनामा दुई खर्ब ४७ अर्ब रुपैंयाँ बराबरको बस्तु तथा सेवा निर्यात

मंगलबार, असार २४ २०८२

काठमाडौं । मुलुकको निर्यात व्यापार बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको पछिल्लो ११ महिनाको प्रतिवेदन अनुसार कुल वस्तु निर्यात ७७ दशमलव आठ प्रतिशतले बढेर दुई खर्ब ४७ अर्ब ५७ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा तीन प्रतिशतले कमी आएको थियो ।

राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः एक सय १२ दशमलव छ प्रतिशत, तीन प्रतिशत र चार दशमलव चार प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया, खोटो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिङ्क सिट, जुस, तयारी पोसाक, अलंैची लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा कुल वस्तु आयात १३ दशमलव एक प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा एक दशमलव आठ प्रतिशतले कमी आएकोे थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः सात दशमलव छ प्रतिशत, १५ दशमलव तीन प्रतिशत र २९ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल/धान, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, विद्युत्तीय उपकरण, रासायनिक मल, कोइला लगायतका वस्तुको आयात घटेको छ ।  निर्याततर्फ भैरहवा, विराटनगर, वीरगञ्ज, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ जलेश्वर र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा कुल वस्तु व्यापार घाटा छ दशमलव तीन प्रतिशतले वृद्धि भई १३ खर्ब ९७ अर्ब २३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा एक दशमलव सात प्रतिशतले कमी आएकोे थियो । समीक्षा अवधिमा निर्यात आयात अनुपात १५ दशमलव एक प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौं दशमलव छ प्रतिशत रहेको थियो ।  समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ६७ अर्ब ३० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब ३७ अर्ब १३ करोड बराबरको भएको थियो ।