रास्वपाका नेता र सांसद अहिले न्यायका लागि भनेर हस्ताक्षर गरी हिँडेका छन्। कानुनविपरित मानिसको मथिङ्गललाई फरक दृष्टिकोण बनाउन हिँडेको यो अभियान कुनै पनि कोणबाट न्यायीक, राजनीतिक, जनदबाब र सान्दर्भिक देखिँदैन। यतिबेला रास्वपाले सभापति रवि लामिछानेको न्यायको विषय राजनीतिक नभएको, दल नखोलिएको बेलाको रहेका कारण आन्तरिक रुपमा बलियो कानुनी शासनको माग राख्ने र आन्तरिक हिसाबले न्यायीक लडाईमा जोड दिने हो। तर, उसका गतिविधि सभापति रवि लामिछानेको रिहाईभन्दा बाहिर छैन। यो एउटा संगठीत अभियान बनिरहेको छ। जुन मुलुक भ्रष्टाचारको आक्रान्तमा चलेको हुन्छ, देखिने राजनीतिक शक्तिका पछाडिको सत्ता बलियो हुन्छ, त्यसमा परिवर्तनको सम्भावना त्यति मात्र हुन्छ जति छायाँ सरकारले चहान्छ। सेना, आतंकवादी समूह र आईएसआई पाकिस्तानका स्थायी सत्ता हुन्। परिवर्तन गर्ने नाममा अस्थायी सत्तामा दुई तिहाई बहुमत ल्याएर इमरान खानको पार्टी तहरीक–ए–इन्साफका सांसद सदनमा कराइरहँदा पनि जेलमुक्त गरिएन। मुक्तिको कुरा छाडौं, धरौटीमा समेत छाडिएन। इमरान खान सन् २०२२ मा पाकिस्तानको प्रधानमन्त्रीको पदबाट अविश्वास प्रस्तावमार्फत पदच्युत भएका थिए। उनको सत्ताच्युतिको प्रक्रियालाई पाकिस्तानको राजनीतिमा एक नाटकीय मोड मानिन्छ।
सन् २०१८ मा पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका इमरान खानविरुद्ध सन् २०२२ को मार्चमा अविश्वास प्रस्ताव दर्ता गरियो। ९ अप्रिल २०२२ को राति संसदमा मतदान गरियो, जसमा १७४ सांसदहरूले समर्थन जनाए जबकि जरुरी संख्या १७२ थियो। त्यसपछि इमरान खान पदच्युत भए र ११ अप्रिलमा शहबाज शरीफ नयाँ प्रधानमन्त्री बने। अहिले इमरानमाथि भ्रष्टाचारको समेत मुद्दा छ।
पाकिस्तानको राजनीतिमा सेनाको प्रभाव अत्यन्त बलियो हुन्छ। हो, यहि हो स्थायी सत्ता। सुरूमा सेनाको समर्थन प्राप्त भए पनि पछि इमरान खान र सेनाबीच नीति, नियोजन र नियुक्तिमा मतभेद बढ्यो। विशेषगरी आईएसआई प्रमुखको सरुवाको विषयमा इमरानको हस्तक्षेप सेनालाई चित्त बुझेन। पाकिस्तानमा महँगी, बेरोजगारी र विदेशी ऋणको भार निकै बढेको थियो। इमरानको सरकार अन्तर्राष्ट्रिय मुद्रा कोषसँग असहज वार्ता गरिरहेको थियो, जसले जनआक्रोश निम्त्यायो। पाकिस्तान मुस्लिम लिग, पाकिस्तान पीपुल्स पार्टीलगायत विपक्षी दलहरू एकजुट भए। गठबन्धन बन्यो र इमरानविरुद्ध सक्रिय भयो। इमरानले अमेरिकी नियतिमाथि खुला आलोचना गरे, र पदच्युतिको आरोपमा विदेशी षड्यन्त्र भएको दाबी गरे। उनले अमेरिका र पाकिस्तानका केही शक्तिशाली संस्थाहरू मिलेर सरकार फालिएको भनाइ राखे। इमरानले सत्ताच्युतपछि राष्ट्रव्यापी ¥याली, आन्दोलन सुरू गरे र जनतामा ’षड्यन्त्र’को सन्देश फैलाए।
पछि उनलाई विभिन्न मुद्दामा जेल चलान गरियो, भ्रष्टाचार, साइबर कानुन उल्लंघन आदि उनीमाथिका मुद्दाका कारण बने। सन् २०२४–२५ मा उनले निर्वाचनमा भाग लिन नपाउने अवस्था आएको थियो। इमरान खानको पदच्युति केवल संसदको मतमार्फत भएको भए पनि यसका पछाडि सेना, विपक्ष, आर्थिक संकट र कूटनीतिक तनाव जस्ता गम्भीर कारकहरू थिए। यो पाकिस्तानको सत्ता संरचना र लोकतान्त्रिक संस्थामाथिको सैन्य प्रभावको पनि उदाहरण हो। यत्ति उदाहरण काफी छैन र? केही परिवर्तन गर्छु भनी आएको, निर्वाचनमा ठूलो बनेको अनि सरकार समेत बनाएको पार्टी केही महिना, बर्षमा नै बिचरो बनाइदिए। यसकारण रविको हविगत पनि इमरान खानको जस्तो बनाउन सक्छन्, त्यस्तो नहोस्।