शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्रभु बैंकमा दक्ष नेतृत्व

नवनियुक्त अध्यक्ष कार्की र सञ्चालक अर्यालको योगदानले बैंकले थप उचाइ लिने विश्वास

शुक्रबार, असार २० २०८२

काठमाडौं । प्रभु बैंक लिमिटेडमा नयाँ नेतृत्व गठन भएको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले सञ्चालक किशोरजंग कार्कीलाई अध्यक्ष पदमा र बैंकर रमेशराज अर्याललाई नयाँ सञ्चालक पदमा चयन गरेसँगै प्रभु बैंकले नयाँ नेतृत्व पाएको हो।

सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक रहेका नवनियुक्त अध्यक्ष कार्की र सञ्चालक अर्यालको कुशल नेतृत्वले आगामी दिनमा बैंकले थप उचाइ लिने विश्वास गरिएको छ।

पूर्वअध्यक्ष लिलाप्रकाश सिटौलाको कार्यकाल गत चैतमा सकिएसँगै अध्यक्ष पद रिक्त रहेको थियो। सोही रिक्त पदमा बिहीबारको सञ्चालक समितिको बैठकले कार्कीलाई अध्यक्ष पदमा चयन गरेको हो।

बैंकका अनुसार वि.सं. २०३९ भदौ ९ गतेदेखि निजामती सेवामा प्रवेश गरेका कार्कीले करिब ३८ वर्ष विभिन्न पद तथा निकायमा जिम्मेवारी वहन गरी २०७७ वैशाख ६ गते सेवानिवृत्त भएका थिए। उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सहसचिवका रूपमा अनिवार्य अवकाश लिएका थिए।

जनप्रशासनमा स्नातकोत्तर गरेका कार्कीले अर्थशास्त्र र नेपाली विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका छन्। ओखलढुंगाको माम्खामा जन्मिएका कार्कीले लोकसेवा आयोग, अर्थ मन्त्रालय, सूचना तथा सञ्चार, सामान्य प्रशासन मन्त्रालय, तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सहसचिवका रूपमा काम गरेका थिए।

त्यस्तै, उनले निजामती राष्ट्रिय किताबखाना, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकका रूपमा पनि काम गरेका थिए।

नवनियुक्त अध्यक्ष कार्कीले आन्तरिक राजस्व विभागका उपमहानिर्देशक, प्रमुख कर प्रशासक, काठमाडौं क्षेत्र–२ को आन्तरिक राजस्व कार्यालयका प्रमुख, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक, तथा भन्सार विभागका उपमहानिर्देशकका रूपमा कार्यानुभव प्राप्त गरेका छन्।

यसैगरी, उपसचिवका रूपमा लोकसेवा आयोगको केन्द्रीय कार्यालय र सुर्खेतस्थित क्षेत्रीय निर्देशनालय, भौतिक योजना तथा निर्माण मन्त्रालय, साथै गोश्वारा हुलाक कार्यालयमा वरिष्ठ हुलाक अधिकृत (उपसचिव) र सामान्य प्रशासन मन्त्रालयमा शाखा अधिकृतका रूपमा समेत कार्य गरिसकेका छन्।

त्यसका साथै, उनले नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद्, कृषि अनुसन्धान कोष, लेखा मान बोर्ड लगायतका संस्थामा सञ्चालक सदस्यको अनुभव पनि राखेका छन्।

नवनियुक्त अध्यक्ष कार्कीले केन्द्रीय चलचित्र जाँच समिति, राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन, रेडियो नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समिति, नेपाल आयल निगम, उदयपुर सिमेन्ट कारखाना, नेपाल औषधि लिमिटेडजस्ता निकायहरूको महाप्रबन्धक/कार्यकारी निर्देशक सिफारिस समितिमा अध्यक्ष वा विज्ञ सदस्यको रूपमा सेवा दिएका छन्।

यी सबै क्षेत्रमा उनले पुर्‍याएको योगदान र अनुभवले बैंकलाई थप उचाइमा पुर्‍याउने आम धारणा सर्वसाधारण शेयरधनी, ग्राहक, शुभचिन्तक तथा सेवाग्राहीमा रहेको बैंकले जनाएको छ।

बैंकका अनुसार, नवनियुक्त सञ्चालक रमेशराज अर्यालसँग पनि बैंकिङ क्षेत्रको गहिरो अनुभव छ। उनले पूर्व नेपाल क्रेडिट एन्ड कमर्स बैंक (हाल कुमारी बैंक) का प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिसकेका छन्।

त्रिभुवन विश्वविद्यालयको शंकरदेव क्याम्पसबाट एमबीए गरेका अर्यालले कर, जोखिम व्यवस्थापन, कर्पोरेट प्रशासन, सूचना सुरक्षा, आतंकवाद वित्त रोकथाम, बैंकिङ नेतृत्व लगायत विषयमा तालिम प्राप्त गरेका छन्।

बैंकिङ करियर एनसीसी बैंकबाट सुरु गरेका अर्यालले कुमारी बैंकमा सीईओ, डीसीओ लगायत पदमा काम गरेका थिए। उनले शंकरदेव क्याम्पसबाट बि.कम र आइ.कम, पशुपति मित्र माविबाट एसएलसी पास गरेका हुन्।

अर्यालले कर व्यवस्थापन, बजेट कार्यशाला, एकीकृत निर्देशन लगायतका क्षेत्रमा विशिष्ट योगदान दिएका छन्। यी सबै अनुभव र योग्यताले नयाँ नेतृत्वसँगै बैंकमा संस्थागत सुशासन, पारदर्शिता, र दिगो वित्तीय वृद्धिमा थप सशक्त पहल हुने अपेक्षा गरिएको छ।