बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बैंकहरुमा चुलियो निष्क्रिय कर्जाः तीन खर्ब व्यवस्थापन जटिल

मंगलबार, असार १७ २०८२

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुमा निष्क्रिय कर्जा बढेर झण्डै तीन खर्ब रुपैंयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो १० महिनामा सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स सहितका ५४ वटा कम्पनीहरुको कुल निष्क्रिय कर्जा बढेर पाँच दशमलव २४ प्रतिशत अर्थात दुई खर्ब ८९ अर्ब १३ करोड ५४ लाख ४४ हजार आठ सय रुपैयाँ पुगेको हो । यस अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ६८ खर्ब ८४ अर्ब ५४ करोड १० लाख र ५५ खर्ब १७ अर्ब ८५ करोड २० लाख रुपैंयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंक तथा फाईनान्स कम्पनीहरुले ६१ खर्ब ९० अर्ब एक करोड ५० लाख रुपैंयाँ निक्षेप संकलन गी ५१ खर्ब छ अर्ब ३० करोड ८० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका थिए । जसबाट बैंकिङ क्षेत्रमा कुल तीन दशमलव ९८ प्रतिशत अर्थात दुई खर्ब तीन अर्ब २३ करोड १० लाख ५९ हजार चार सय रुपैंयाँ बराबरको कर्जा निष्क्रिय देखिएको थियो । बाँणिज्य बैंकहरुले मात्र चालु आवको पछिल्लो १० महिनामा ६१ खर्ब ४८ अर्ब ७९ करोड ४० लाख रुपैयाँ निक्षेप संंकलन गरी ४८ खर्ब ९७ अर्ब ३५ करोड ९० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव पाँच प्रतिशतका दरले हुन आउने दुई खर्ब ४७ अर्ब ३१ करोड ६६ लाख २९ हजार पाँच रुपैंयाँ बराबरको कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने बाँणिज्य बैंकहरुले ५४ खर्ब तीन करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ खर्ब ११ अर्ब १० करोड ८० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ८९ प्रतिशतका दरले हुन आउने एक एक खर्ब ७५ अर्ब ४८ करोड २१ लाख एक हजार दुई सय रुपैंयाँ बराबरको कर्जा निष्क्रिय देखिएको थियो ।

राष्ट्र बैंकका अनुसार बिकास बैंकहरुले भने चालु आवको पछिल्लो १० महिनामा छ खर्ब नौं अर्ब ४८ करोड ९० लाख रुपैंयाँ निक्षेप संकलन गरी पाँच खर्ब १९ अर्ब १४ करोड १० लाख रुपैैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव ५६ प्रतिशतका दरले हुन आउने २८ अर्ब ८६ करोड ४२ लाख ३९ हजार छ सय रुपैंयाँ बराबरको कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने बिकास बैंकहरुले पाँच खर्ब ९३ अर्ब ६७ करोड १० लाख रुपैंयाँ निक्षेप संकलन गरी चार खर्ब ९६ अर्ब ५४ करोड ३० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ६३ प्रतिशतका दरले हुन आउने १८ अर्ब दुई करोड ४५ लाख १० हजार नौं सय रुपैंयाँ बराबरको कर्जा निष्क्रिय देखिएको थियो ।

फाईनान्स कम्पनीहरुले भने चालु आवको पछिल्लो १० महिनाको अवधिमा एक खर्ब २६ अर्ब २५ करोड ८० लाख रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब दुई अर्ब ६६ करोड ९० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा १३ दशमलव शुन्य पाँच प्रतिशतका दरले हुन आउने १३ अर्ब ३८ करोड ८० लाख ३७ हजार छ सय रुपैंयाँ बराबरको कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने फाईनान्स कम्पनीहरुले कुल एक खर्ब २४ अर्ब ३० करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ९८ अर्ब ६५ करोड ७० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा १० दशमलव ४० प्रतिशतका दरले हुन आउने १० अर्ब २६ करोड तीन लाख २० हजार रुपैयाँ बराबरको कर्जा निष्क्रिय देखिएको थियो ।