शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपाल र वेस्ट इन्डिजबीच पहिलोपटक त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खला

बिहिबार, असार ५ २०८२

काठमाडाैं  । नेपालको राष्ट्रिय पुरुष क्रिकेट टोली र पहिलोपटक टेस्ट मान्यताप्राप्त वेस्ट इन्डिजबीच  त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला हुने भएकाे छ। नेपाल क्रिकेट संघ (क्यान)ले गत बिहीबार नेपाल र वेस्ट इन्डिजबिच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने घोषणा गरेको छ ।

यो ऐतिहासिक शृङ्खला आगामी सेप्टेम्बरमा युएईको शारजाहमा आयोजना हुनेछ। यद्यपि खेलहरू तटस्थ मैदानमा खेलिने भए पनि यस शृङ्खलामा नेपाल औपचारिक आयोजक राष्ट्र हुनेछ।

क्रिकेट वेस्ट इन्डिज (सीडब्लुआइ) द्वारा जारी गरिएको विज्ञप्तिमा यस श्रृंखलालाई “ऐतिहासिक” भन्दै क्रिकेटको विश्वव्यापी विस्तारमा एक महत्वपूर्ण उपलब्धिका रूपमा चित्रण गरिएको छ। खेलहरू सेप्टेम्बर २७, २८ र ३० तारिखमा हुनेछ, जुन नेपालले वर्षको अन्त्यतिर खेल्ने पुरुष टी–२० विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीका रूपमा पनि हेरिएकाे छ ।

सीडब्लुआइका प्रमुख कार्यकारी अधिकृत क्रिस डेहरिङले विज्ञप्तिमा भनेका छन्, “यो श्रृंखला केवल केही अन्तर्राष्ट्रिय खेलहरू मात्रै होइन, यो क्रिकेटको विश्वव्यापी प्रसारणकाे उत्सव हो र क्रिकेटले बोकेको गौरव, उद्देश्य र एकताको शक्तिको प्रतिनिधित्व पनि हो।”

“पूर्ण सदस्य राष्ट्रको हैसियतले हामीले हाम्रो सीमाभन्दा बाहिर क्रिकेटको विकासमा योगदान पुर्‍याउनु जिम्मेवारीको रूपमा लिएका छौं। नेपालको क्रिकेट यात्राको यस महत्वपूर्ण चरणमा साथ दिन पाउनु हाम्रो गौरव हो। यसले जडस्तरदेखि लिएर अन्तर्राष्ट्रिय तहसम्म क्रिकेटको विकासमा योगदान दिन्छ र राष्ट्रिय प्रतिनिधित्वको गौरव र सम्मानलाई पनि पुनः स्मरण गराउँछ। हामी नेपालसँग यस ऐतिहासिक क्षणमा उभिन पाउँदा गर्व गर्छौं र शारजाहमा प्रतिस्पर्धात्मक तथा रोमाञ्चक क्रिकेटको अपेक्षा गरेका छौं।”

विज्ञप्तिमा वेस्ट इन्डिजले प्रतिस्पर्धात्मक टोली उतार्ने उल्लेख गरिएको छ।

हाल वेस्ट इन्डिजको टी–२० टोली आयरल्यान्डमा तीन खेलको टी–२० श्रृंखलामा सहभागिता जनाइरहेको छ, जसको पहिलो खेल वर्षाका कारण धुलिएको थियो। उता नेपाल स्कटल्याण्डमा नेदरल्याण्ड्ससहितको त्रिकोणात्मक टी–२० श्रृंखलामा खेल्दैछ।

टी–२० फर्म्याटमा दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज हाल विश्व र्‍याङ्किङमा पाँचौं स्थानमा छ भने नेपाल १८औं स्थानमा रहेको छ ।

क्रिकेटको छोटो फर्म्याट (टी–२०) मा वेस्ट इन्डिजको रेकर्ड गर्विलो छ । वेस्ट इन्डिजले यो फर्म्याटमा हुने विश्वकप दुईपटक जितेको छ । सन् २०१२ र २०१६ मा गरी वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप जितेको हो । सन् २००६ मा वेस्ट इन्डिजले पहिलोपटक न्युजिल्यान्डसँग टी–२० आई खेलेको थियो । अहिलेसम्म वेस्ट इन्डिजले २१९ टी–२० आई खेल्दा ९३ खेलमा जित र ११२ मा हारको सामना गरेको छ । वेस्ट इन्डिजले निरन्तर रूपमा टी–२० विश्वकप खेलिरहेको छ ।

नेपालले अहिलेसम्म दुईपटक टी–२० विश्वकपमा सहभागिता जनाएको छ । सन् २०१४ र २०२४ मा नेपालले विश्वकप खेलेको हो । नेपालले पहिलोपटक सन् २०१४ मा हङकङसँग टी–२० आई खेलेको थियो । ११ वर्षको यात्रामा नेपालले अहिलेसम्म सय बढी खेल खेलिसकेकाे छ ।

गत वर्षको वैशाखमा वेस्ट इन्डिजको ‘ए’ र नेपालबिच पाँच खेलको टी–२० सिरिज भएको थियो । त्यसवेला वेस्ट इन्डिज क्रिकेट बोर्डले नेपालविरुद्ध खेल्न सिनियर क्रिकेटर रोस्टन चेजलाई कप्तानी जिम्मेवारी दिएको थियो । नेपालविरुद्ध सन् २०१६ मा वेस्ट इन्डिजले टी–२० विश्वकप जितेका वेलाका ब्याट्सम्यान जोनसन चाल्र्स र आन्द्र फ्लेचरले पनि प्रतिस्पर्धा गरेका थिए ।

गत वर्षको आइसिसी टी–२० विश्वकपमा बलियो टोली बनाउन वेस्ट इन्डिजका प्रशिक्षक डारेन सामीले अनुभवी खेलाडी नेपाल पठाएका थिए । यद्यपि, वेस्ट इन्डिजसँग उत्कृष्ट प्रदर्शन गरे पनि नेपालले सिरिज गुमायो ।