शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

गैर–बैंकिङ सम्पती बढ्दा वित्तीय क्षेत्रमा जोखिम

५४ वटा संस्थामा ४४ अर्ब ८० करोड रुपैंयाँ बराबरको गैर–बैंकिङ सम्पती

मंगलबार, जेष्ठ २७ २०८२

काठमाडौं । बैंकिङ क्षेत्रमा गैर–बैंकिङ सम्पती बढ्दा जोखिम पनि बढ्ने देखिएको छ । बैंक तथा फाईनान्स कम्पनीहरुमा चल पुँजी अर्थात नगद रकम हुनुपर्नेमा गैर–बैंकिङ सम्पती बढेकै आधारमा ठुलो परिमाणको नगद रकम स्थिर पुँजीमा रुपान्तरण हुँदा यसले वित्तीय क्षेत्रमा थप जोखिम ल्याउन सक्ने देखिएको हो । गैर–बैंकिङ सम्पती बढेको आधारमा हुन सक्ने यही जोखिमलाई ध्यानमा राखेर सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम बैंकमा रहेको गैर–बैंकिङ सम्पती व्यवस्थापन गर्नको लागि छुट्टै निकाय गठन गर्ने तयारी गरेको छ । गैर–बैंकिङ सम्पती व्यवस्थापन मात्र गर्ने गरी सरकारले छुट्टै सयन्त्र बनाउने तयारी गरेको छ ।

अर्थतन्त्र सुस्त भएकै कारण बैंक तथा फाईनान्स कम्पनीहरुले विगतमा प्रवाह गरेको कर्जाबाट नियमितरुपमा सावाँव्याज उठाउन सकेका छैनन् । खराब कर्जामा रुपान्तरण भएको सम्पती धितो लिलामीको लागि पटक पटक सार्वजनिक सुचना जारी गर्दा पनि त्यस्तो सम्पती बिक्ने अवस्थामा छैन । यसले गर्दा पछिल्लो समय बैंकिङ क्षेत्रमा खराब कर्जा पनि निरन्तर बढ्दै गएको छ । एकातिर खराब कर्जा बढ्दै जाने र अर्कोतर्फ धितो लिलाम गर्दा धितो नबिक्ने भएपनि बैंकिङ क्षेत्रमा पछिल्लो समय गैर–बैंकिङ सम्पती बढ्दै गएको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका कुल ५४ वटा संस्थाहरुमा गैर–बैंकिङ सम्पती बढेर ४४ अर्ब ८० करोड ९० लाख रुपैंयाँ पुगिसकेको छ । यो सम्पती गत आवको सोही अवधिको तुलनामा १७ अर्ब ४० करोड ४० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुमा यस्तो सम्पती २७ अर्ब ४० करोड ५० लाख रुपैंयाँ बराबरको रहेको थियो ।

राष्ट्र बैंकका अनुसार बाँणिज्य बैंकहरुमा मात्र पछिल्लो अवधिमा ३८ अर्ब ४१ करोड १० लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पती रहेको छ । यो सम्पती गत आवको सोही अवधिको तुलनामा १४ अर्ब ८३ करोड ८० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बाँणिज्य बैंकहरुमा २३ अर्ब ५७ करोड ३० लाख रुपैंयाँ बराबरको गैर–बैंकिङ सम्पती देखिएको थियो । बिकास बैंकहरुमा पनि पछिल्लो समय गैर–बैंकिङ सम्पती बढेर तीन अर्ब ७२ करोड ५० लाख रुपैंयाँ पुगेको छ । यो सम्पती गत आवको सोही अवधिको तुलनामा एक अर्ब १८ करोड ३० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बिकास बैंकहरुमा दुई अर्ब ५४ करोड २० लाख रुपैंयाँ बराबरको गैर–बैंकिङ सम्पती देखिएका थियो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो अवधिमा फाईनान्स कम्पनीहरुमा मात्र भने दुई अर्ब ६७ करोड ३० लाख रुपैंयाँ बराबरको गैर–बैंकिङ सम्पती देखिएको छ । यो सम्पती गत आवको सोही अवधिको तुलनामा एक अर्ब ३८ करोड ३० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरुमा एक अर्ब २९ करोड रुपैंयाँ बराबरको गैर–बैंकिङ सम्पती रहेको थियो ।