बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

रेमिट्यान्स रकम बढ्यो

राष्ट्र बैंक भन्छ, १० महिनामा भित्रियो १३ खर्ब ५६ अर्ब रुपैंयाँ

मंगलबार, जेष्ठ २७ २०८२

काठमाडौं । रेमिट्यान्स रकम बढेको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्षक २०८१/८२ को १० महिनाको प्रतिवेदन अनुसार रेमिट्यान्स रकम १३ दशमलव दुई प्रतिशतले बढेर १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैंयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६ दशमलव नौं प्रतिशतले बढेको थियो । २०८२ वैशाख महिनामा विप्रेषण आप्रवाह एक खर्ब ६५ अर्ब ३० करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब १५ अर्ब ९९ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १० दशमलव पाँच प्रतिशतले बढेर नौं अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १४ खर्ब ७९ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब एक अर्ब ७५ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या चार लाख पाँच हजार छ सय १० र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ८० हजार तीन सय १४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः तीन लाख ७३ हजार तीन सय सात र दुई लाख ३५ हजार तीन सय ९८ रहेको प्रतिवेदनमा उल्लेख छ ।