क्यानबेरा । अस्ट्रेलियाका स्टार अलराउण्डर ग्लेन म्याक्सवेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । उनले सोमबार एक पोडकास्टमार्फत् सन्न्यासको निर्णय लिएको खुलाएका हुन् ।
म्याक्सवेलले १४९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा तीन हजार ९९० रन बनाएका छन् । उनको औसत ३३.८१ र स्ट्राइक रेट १२६।७० छ । उनको नाममा ७७ विकेट पनि छ । एक दोहोरो शतक, चार शतक र २३ अर्धशतक बनाएका उनले अस्ट्रेलियाका लागि सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप जितेका छन् ।
उनले सन् २०१२ मा अफगानिस्तानविरुद्धको खेलमार्फत् एकदिवसीय अन्तर्राष्ट्रिय करियर सुरु गरेका थिए । यसैगरी म्याक्सवेलले यसै वर्ष भारतविरुद्ध अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि खेलेका छन् ।
म्याक्सवेल मोडर्न क्रिकेटमा नवीन शटहरूका लागि परिचित हुन् । उनी रिभर्स शटलगायतका इनोभेटिभ शट खेल्न माहिर छन् । उनले सन् २०२३ को एकदिवसीय विश्वकपमा अफगानिस्तानविरुद्ध कठिन परिस्थितिका बीच २०१ रनको अविजित पारी खेलेका थिए । जुन सर्वकालीन महान् पारीमध्येको एक बनेको छ ।
म्याक्सवेलले टी(२० भने खेलिरहने बताएका छन् । आगामी वर्ष हुने टी-२० विश्वकप उहाँका लागि अन्तिम हुन सक्छ । उनले अस्ट्रेलियाका लागि सन् २०२१ को टी-२० विश्वकप पनि जिताएका छन् ।
आफ्नो सन्न्यासको घोषणा गर्दै म्याक्सवेलले भने, ‘च्याम्पियन्स ट्रफीको सुरुवाती खेलहरूपछि मैले यो निर्णय लिएको थिएँ । मलाई लाग्यो कि म टोलीलाई निराश पार्दैछु ।’ ३६ वर्षीय म्याक्सवेल आइपिएल २०२५ को सुरुवाती चरणमा पञ्जाब किंग्स टोलीसँग छन् ।
भारत-पाकिस्तान तनावको बीचमा उनी अस्ट्रेलिया फर्किसकेका छन् । यसपछि म्याक्सवेल आइपिएल खेल्न भारत फर्केनन् । पछिल्ला केही महिनाहरूमा म्याक्सवेलको प्रदर्शनमा गिरावट आएको थियो । उनी आफ्नो छविअनुसार खेल्न सक्षम देखिएका थिएनन् । यो पनि उनको सन्न्यासको कारण भएको खेलकुदविद्को बुझाइ छ । एजेन्सी ।